पाँच पूर्वप्रमुख आयुक्तले भने : नेकपाको विवाद छिटो टुंगो लगाउ

काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पाँच पूर्वनिर्वाचन आयुक्तहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रचलित कानुनी र स्थापित नजीरहरुको आधारमा समस्या समाधान गर्न आग्रह गरेका हुन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । ‘राजनीति दलको विवाद निरुपणमा ढिलाई गरेको भनि निर्वाचन आयोगका निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानून तथा स्थापित नजिरहरुको आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौँ ।’ विभाजित सत्तारुढ नेकपाका दुवै पक्षले आ–आफ्नो समूहले आधिकारिकता पाउने दाबी गरिरहेपनि निर्वाचन आयोगले हालसम्म कुनै पनि समूहलाई आधिकारितक दिने निर्णय गर्न सकेको छैन ।