लक्ष्मी म्युचुअलका चारओटै फण्डको न्याभ बढ्यो

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड-२ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ मङ्सिर मसान्तको तुलनामा पुस मसान्तमा वृद्धि भएको छ ।  लक्ष्मी भ्यालु फण्ड २ को न्याभ मङ्सिर मसान्तमा १० रुपैयाँ १३ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ४९ पैसा पुगेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ मङ्सिर मसान्तमा १० रुपैयाँ ४ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ३८ पैसा पुगेको हो । लक्ष्मी इक्वीटी फण्डको न्याभ मङ्सिर मसान्तमा ९ रुपैयाँ ८९ पैसा रहेकोमा पुस मसान्तमा बढेर १० रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै शुभ लक्ष्मी कोषको न्याभ पुस मसान्तमा १० रुपैयाँ ३६ पैसा पुगेको छ । यो फण्डको न्याभ मङ्सिर मसान्तमा ९ रुपैयाँ ९६ पैसा थियो । यो फण्ड मङ्सिर मसान्तमा रू. ३४ लाख २० हजार नोक्सानीमा रहेकोमा पुस मसान्तमा रू. ८० लाख २६ हजार नाफामा छ । यो फण्डले पुस मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २० करोड ९१ लाख लगानी गरेको छ ।  लक्ष्मी इक्वीटी फण्डले पुस मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ९० करोड ५५ लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तमा भने रू. ८६ करोड ९४ लाख थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ । फण्ड पुस मसान्तसम्ममा रू. १३ करोड ५७ लाख नोक्सानीमा छ । मङ्सिर मसान्तमा पनि फण्ड रू. १८ करोड ६७ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी मङ्सिरको तुलनामा पुसमा केही घटेको छ ।  लक्ष्मी भ्यालु फण्ड २ ले पुस मसान्तसम्ममा रू. ३ करोड २७ लाख नाफा कमाएको छ । सो अवधिमा यो फण्डले सूचीकृत धितोपत्रमा रू. ४१ करोड ४० लाख लगानी गरेको छ । यो लगानी मङ्सिर मसान्तमा भने रू. ३४ करोड ५३ लाख थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।