सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

पुस ७, काठमाडौं । मंसिर २४ गतेदेखि विक्रीमा आएको सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ । कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको हो । कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने बताएको छ । सर्वसाधारणलाई निष्कासन गरेको १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा सबै कित्ताका लागि बुधवार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाउँछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सिभिल बैंक डिबेञ्चर २०८८ नामक ऋणपत्र निष्कासन गरेको हो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  आवेदकले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।