चैत १५, काठमाडौं । सरकारले गैर आवासीय नेपाली (एनआरएन) हरूलाई डलर खाता खोल्न आग्रह गरे पनि अहिलेसम्म कति डलर खाता खुुले भन्ने आधिकारिक तथ्यांक भने छैन ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को त्रैमासिक समीक्षामार्फत डलर खाता खोल्ने नीति ल्याएसँगै अधिकांश वाणिज्य बैंकहरूले यस्ता खाता खोल्न शुुरू गरिसकेका छन् । तर, हालसम्म बैंकहरूमा कति डलर खाता खुले र यी खातामा कति डलर जम्मा भयो भन्ने यकिन तथ्यांक भने छैन ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्ट हालसम्म राष्ट्र बैंकले डलर खाता कति खुले भनेर तथ्यांक नराखेको बताउँछन् ।
डलर खातालाई पनि निक्षेप खातामा नै गणना गर्ने गरिएको उनको भनाइ छ । ‘छुट्टै डलर खाता भनेर हामीले छुट्याएका छैनौं । बैंकहरूले निक्षेप खातामा डलर खाताहरू गणना गर्ने गरेका छन्’, उनले भने । बैंकमा धेरै यस्ता खाता नखुलेकाले पनि रेकर्ड नमागिएको भट्टको भनाइ छ ।
अर्थमन्त्री जनार्दन शर्माले गत पुस अन्तिम साता एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लागनी र रोजगारी बढ्ने भन्दै डलर खाता खोल्न आग्रह गरेका थिए । तर, यस्ता खाता कति खुले भनेर हालसम्म अर्थमन्त्री शर्माले पनि चासो देखाएका छैनन् ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गत मंसिरमा एनआरएनले डलर खाता खोल्न मिल्ने व्यवस्था गरेको थियो । एनआरएनले न्यूनतम ५ हजार अमेरिकन डलर राखेर नेपाली बैंकमा खाता खोल्न सक्ने व्यस्था गरिएको छ ।
यसका लागि गैर आवासी नेपालीको नाममा खाता खोल्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको अद्यावधिक परिचय पत्रको प्रतिलिपी पेश गर्नु पर्ने व्यवस्था छ । तर, विदेशी मुद्रा सञ्चितिलाई सहयोग पुगोस भनेर राष्ट्र बैंकले यो व्यवस्था गरेको भने पनि डलर खाता कति खुले, विदेशी सञ्चितिमा कति सहयोग पुग्यो भन्ने तथ्यांक नहुनु सरकारको काम गर्ने र कुरा गर्ने प्रवृतिमा फरकपन देखिएको जानकार बताउँछन् ।
राष्ट्र बैंकका अनुसार चालू आव (आव) २०७८/७९ को माघसम्म निक्षेप खाता जनसंख्याभन्दा बढी खुलेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार नेपालको जसंख्या २ करोड ९१ लाख ९२ हजार ४८ पुगेको छ । तर, निक्षेप खाता खोल्नेको संख्या चालू आवको माघसम्ममा ४ करोड १७ लाख ४२ हजार ९७९ पुगेको छ ।
त्यसैरी कर्जा खाता खोल्नेको संख्या पनि १८ लाख ७ हजार ७५२ पुुगेको छ ।