अधिकांश कम्पनी घाटामा रहेको हाइड्रोपावरको शेयरमा आकर्षण, एक महीनामा लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । एक महीनामा हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को गत भदौ १० देखि असोज १० गतेसम्मको तथ्यांकअनुसार यस समूहका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् ।  तथ्यांकअनुसार यो अवधिमा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ६.४९ प्रतिशत बढेको छ । एक महीनाअघि (गत भदौ १० गते) यस समूहको परिसूचक २ हजार ५६ दशमलव ४५ विन्दुमा रहेकोमा गत बुधवार (यही असोज १० गते) २ हजार १९० विन्दुमा पुगेको हो ।  २०८० भदाै १० र असोज १० गतेको समूहगत परिसूचक र फरक प्रतिशत स्रोत : नेप्से । यो अवधिमा नेप्से परिसूचक पनि ११ अंक बढेको छ । गत भदौ १० गते नेप्से परिसूचक १ हजार ९९३ दशमलव ३८ विन्दुमा थियो । असोज १० गते नेप्से परिसूचक २ हजार ४ दशमलव ३० विन्दुमा पुग्यो । यो अवधिमा बजार घट्दा न्यूनतम १ हजार ९२९ दशमलव ६६ विन्दुसम्म झरेको थियो ।  000 हाल नेप्सेमा ८४ हाइड्रोपावर कम्पनीहरू सूचीकृत छन्, जसमध्ये धेरैजसो कम्पनीहरू घाटामा छन् । तर, यो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्नुको कारण के हो ?  जानकारहरूका अनुसार यसको एक कारण होे– यस समूहका अधिकांश कम्पनीको शेयर कित्ता कम हुनु । लगानीकर्ता सुनिता थापा पछिल्लो समय थोरै कित्ता भएका कम्पनीमा आकर्षण रहेको बताउँछिन् । ठूला लगानीकर्ताले बढी कारोबार गर्ने भएकाले पनि त्यस्ता कम्पनीको शेयरमा लगानीकर्ता आकर्षण रहेको उनको भनाइ छ । उनका अनुसार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्नुको अर्काे कारण हो– यस्ता कम्पनीले हकप्रद शेयर निष्कासन गर्न पाउने व्यवस्था हुनु ।  घाटामै भए पनि यो समूहका कम्पनीको शेयर मूल्य दोस्रो बजारमा उच्च छ । पछिल्लो समय लगानीकर्ताहरूले प्रायःजसो दीर्घकालीनभन्दा पनि अल्पकालीनरूपमा लगानी गर्ने गर्छन् । यस्ता लगानीकर्ताले शेयर संख्या कम भएका र प्रोमोटर शेयर पब्लिकमा परिणत नभएका कम्पनीमा लगानी गर्दा ती कम्पनीको शेयर मूल्य बढेको जानकारहरू बताउँछन् ।  यस्तै, हाइड्रोपावरका प्रमोटरहरूमध्ये ९९ प्रतिशतले लकिङ पिरियडपछि शेयर बेचेर बाहिरिने गरेको पाइएको छ । यसले गर्दा कम्पनीको शेयर मूल्य अस्वभाविकरूपमा बढ्ने गरेको छ । जानकारहरू यसको कारण खुलाउँछन्– हाइड्रोपवार कम्पनीले १०÷२० प्रतिशत पनि शेयर सर्वसाधारणमा जारी गरेपछि बजारमा शेयर संख्या कम हुन्छ । यसपछि निश्चित समूहले कर्नरिङ गरेर शेयर मूल्यमा अस्वभाविक रूपमा बढाउने गर्छन् ।  यो प्रवृत्ति निरुत्साहित गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संस्थापकहरूको लक इन पिरियड खुलाउने सम्बन्धमा विद्यमान व्यवस्थालाई परिमार्जन गरेको छ । हाइड्रोपावर कम्पनीको धितोपत्र कारोबारलाई पारदर्शी बनाउन सेबोनले हाइड्रोपावर कम्पनीले विद्युतको व्यापारिक उत्पादन गरिसकेपछि मात्रै लक इन पिरियड खुलाउने व्यवस्था गरेको हो । त्यस्तै हाइड्रोपावर कम्पनीका संस्थापक शेयरको लक इन खुलेको जानकारी सेबोन, नेप्से र राष्ट्रिय स्तरका दैनिक पत्रिका र कम्पनीको वेबसाइटमा समेत दिनुपर्ने व्यवस्था गरिएको छ ।  यसअघि भने कम्पनी स्थापना भएको तीन वर्षपछि संस्थापक शेयर सर्वसाधारणका लागि निष्कासन गर्न पाउने व्यवस्था थियो ।  हाइड्रोपावरपछि वित्त समूहको सर्वाधिक वृद्धि एक महीनामा हाइड्रोपावरपछि वित्त समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । तथ्यांक अनुसार उक्त समूहको परिसूचक ३ दशमलव ८५ प्रतिशत वृद्धि भएको हो । यस समूहका कम्पनीहरूको शेयर संख्या कम भएकाले लगानीकर्ताको आकर्षण बढेको जानकारहरू बताउँछन् ।  तथ्यांकअनुसार एक महीनामा होटल तथा पर्यटन समूहको सूचक २ दशलमव ४९ प्रतिशत घटेको छ । यस समूहको परिसूचक केही समयदेखि बढेको थियो । यस समूहका लगानीकर्ताहरूले प्रोफिट बुक गरेसँगै उक्त समूहको परिसूचक घटेको हो ।