प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्मेलनमा भाग लिन बेलायत जाने

काठमाडौं (अस) । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता बेलायत जानुहुने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्टकल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मलेन हुँदै छ । यो प्रधानमन्त्रीका रूपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन बेलायत गए पनि देउवाको यो भ्रमण द्विपक्षीय भने हुनेछैन ।