हेरिटेज ग्रुपद्वारा ३० करोड लगानीमा चिया उद्योग स्थापना

साउन १४,  झापा । व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याट्रेसलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको सो ग्रुपले ३० करोड रुपैयाँ लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।            गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर–१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ । ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत रहेका छन् । प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसान बीचको विवाद समाधानमा योगदान पुर्‍याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।            उनले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारी दिए । भारत, रुस र अरब मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको बताइएको छ । वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् । रासस  

सम्बन्धित सामग्री

सुधारोन्मुख चिया निर्यात

करिब १२ वर्षदेखि नेपाली चिया निर्यात गर्दै आएको झापाको ‘नेचर हिमालय चिया उद्योग’ ले इलाममा अर्को उद्योग स्थापना गर्दै छ । विश्वव्यापी कोरोना भाइरसले धेरै सामग्रीको कारोबारमा गिरावट ल्याइरहँदा चिया निर्यातमा भने कुनै असर परेन । अर्कोतिर रुससहित विश्वबजारमा चियाको माग निकै बढ्न थालेपछि चारदेखि पाँच वटासम्म उद्योग स्थापना गर्ने तयारी रहेको उक्त उद्योगका सञ्चालक बद्री केसीले बताए ।