अमेरिकामा कर्मचारी भर्ती सुस्तायो

पुस २५, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकामा कर्मचारी भर्ती सुस्त भएको छ ।  कोरोना भाइरसको महामारीको प्रभाव निरन्तर चलिरहेकै समयमा कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गर्न संघर्ष गरिरहेका छन् । डिसेम्बरमा अमेरिकी रोजगारदाताहरुले १ लाख ९९ हजार जनालाई काममा राखेका छन् । रोजगारी सृजना अपेक्षाकृत कमजोर रहेको लगातार दोस्रो महीना हो । रोजगारी सृजना सुस्ताएको भएपनि बेरोजगारी दर घटेर ३ दशमलव ९ प्रतिशतमा आएको श्रम मन्त्रालयले बताएको छ । तलब भने बढेको बताइएको छ । रोजगारी सम्बन्धी यो मिश्रीत तथ्यांक ओमिक्रोनको पूर्ण प्रभाव देखिनु अघि संकलन गरिएको छ ।  लगातार दोस्रो महीना द्विविधापूर्ण तस्वीर देखिएको बैंक रेट डटकमका वरिष्ठ आर्थिक विश्लेषक मार्क ह्यामरिकले बताएका छन् । ओमिक्रोनको पूर्ण प्रभाव जनवरीको श्रम बजारको अवस्था हेरेर थाहा हुने पनि उनले बताए ।  सन् २०२१ मा अमेरिकी अर्थतन्त्रले ६४ लाखभन्दा धेरै रोजगारी सृजना गरेको थियो । योसँगै कोरोना भाइरसको महामारी उत्कर्षमा भएको बेलामा गुमेका धेरैजसो जागिर फिर्ता भइसकेको छ । एजेन्सी