वैशाख १, काठमाडौं ।निर्वाचन आयोगले नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै उनलाई बिहीवार स्पष्टीकरण सोधेको हो ।
नेकपा माओवादी केन्द्रको प्रकाशित गरेको निर्वाचन प्रचार - प्रसार पोष्टरमा उनको फोटो राखिएको थियो । तर व्यापक आलोचना भएपछि भने उक्त पार्टीले उनको तस्वीर पछि हटाएको थियो ।
घिसिङको तस्वीर चुनावी पोस्टरमा राख्नुले निर्वाचन आचार संहिता उल्लंघन भएको आयोगको भनाइ छ । आयोगले किन कारबाही गर्न नपर्ने हो भन्नेबारे स्पष्ट पार्न भनेको हो ।
आयोग स्रोतका अनुसार फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर कुलमानलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ ।
निर्वाचन आयोगले उनलाई सात दिनभित्र आयोगका प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनेको छ । यसैगरी आयोगले गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ ।