सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सेवाहरु मोबाइल बाटै प्रवाह गर्नेगरी सञ्चालन गरिएको नागरिक एपलाई प्रभावकारी बनाउन विद्युत व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित काठमाडौं विद्युतीय व्यवसायी संघको एघारौं बार्षिक साधरणसभामा मन्त्री गुरुङले प्रत्येक नागरिकको घरमा पुग्ने विद्युतीय सामग्रीहरु गुणस्तरीय, सस्तो र सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारी सेवाका लागि कार्यालय जानु नपर्ने र कुनै झण्झट बेहोर्नु नपर्ने गरी नागरिक एप सुरु गरिएको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले पेपरलेस, फेसलेस र लाइन हैन, अनलाइनबाट सेवा प्रवाह भन्ने अभियानलाई सफल बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताउनुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।