हायर पर्चेज कर्जामा कानूनी व्यवस्था

सामान खरीद विक्रीमा नगद वा उधारोमा लिने दिने प्रचलन छ । हायर पर्चेज उधारोमा खरीद विक्री गरिने कारोबारमध्ये सामानको मूल्य किस्ताबन्दी नगद वा अन्य कुनै तरीका जस्तै विनिमय (चेक) लगायत विद्युतीय माध्यमबाट भुक्तानी गरी खरीद गर्न सक्ने व्यवस्था हो । हायर पर्चेज मुख्यतया चल सामान खरीद विक्री गर्दा खरीदकर्ता तथा विक्रेताबीच करार गरिन्छ । उक्त करारमा खरीदकर्ताले विक्रेतालाई शर्तबमोजिम किस्ताकिस्तामा सामानको मूल्य तिर्दै जाने र अन्तिम किस्ता भुक्तानी भएमा सामानको स्वामित्व खरीदकर्तामा हस्तान्तरण गर्ने गरिन्छ । हायर पर्चेजका कानुनी व्यवस्था मुलुकी देवानी संहितामा रहेको छ । संहिताअनुसार शर्तमा कसैले कुनै वस्तु कुनै व्यक्तिलाई भाडामा दिएकोमा हायर पर्चेज करार भएको मानिएको छ । यस करारमा वस्तु (चल सम्पतीका) धनीले कुनै व्यक्तिलाई आवधिक रूपमा किस्ताबन्दीमा रकम भुक्तानी गर्नेगरी भाडामा दिएको वस्तुमा भाडामा लिने व्यक्तिको भोगचलनको अधिकार हुने कुरा, शर्तबमोजिम भाडामा दिएको वस्तु भाडामा लिने व्यक्तिले खरीद गर्न सक्ने कुरा, अन्तिम किस्ताबन्दी रकम भुक्तानी गरेपछि त्यस्तो वस्तुको स्वामित्व भाडामा लिने व्यक्तिलाई हस्तान्तरण हुने कुरा उल्लेख गर्र्नुपर्ने व्यवस्था छ (मुलुकी देवानी संहिताको दफा ६२४) । हायर पर्चेज कर्जामा सवारी साधन बैंक वा वित्तीय संस्थामा धितोका रूपमा रहन्छ भने स्वामित्व र कव्जा कर्जा लिनेसँग रहन्छ । यस कर्जामा सवारी साधनकोे मूल्य बैंक वा वित्तीय संस्थाले विक्रेता व्यक्ति वा संस्थालाई भुक्तानी गरी खरीद गर्नेगरी करार लिखत गरिन्छ । त्यस्तै करारमा हुन पर्ने अन्य कुराहरूमा वस्तु (सामानको) विवरण, वस्तुको हायर पर्चेज मूल्य, वस्तुको नगदी मूल्य, करार प्रारम्भ भएको मानिने मिति, भाडामा लिने व्यक्तिले वस्तुको धनीलाई भुक्तानी गर्नुपर्ने किस्ताबन्दी रकम र त्यसको सङ्ख्या, प्रत्येक किस्ताबन्दी रकम बुझाउनुपर्ने मिति तथा भुक्तानी गर्नुपर्ने तरिका, रकम भुक्तानी गर्नुपर्ने व्यक्ति र ठाउँ उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ ।(मुलुकी देवानी संहिताको दफा ६२५) मुलुकी देवानी संहितामा उल्लेखित केहप् व्यवस्था पर्चेजको प्रचलित मान्यता र सिद्धान्त मेल नखाने देखिन्छ । हायर पर्चेज मुख्यतया कुनै सामानको रकम तत्काल भूक्तानी नगरी किस्ता किस्तामा भुक्तानी गर्नेगरी सामान खरीद गर्ने प्रकृया हो । सामान भाडामा लिने विषयवस्तु यसमा देखिँदैन । मुलुकी देवानी संहिता उल्लेखित भाडामा लिने भन्ने शव्दको सट्टा हायर पर्चेजमा खरीद गरिको सामान वा वस्तु भन्ने उल्लेख हुनु पर्छ । हायर पर्चेज जुनसुकै चल सामान खरीद विक्रीमा हुन सक्ने भएता पनि यसको प्रचलन मूख्यतया सवारी साधन (मोटर साइकल, गाडीहरूमा) वढी रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा अन्तर्गत कर्जा दिने गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थासँग हायर पर्चेज कर्जामा सवारी खरीद गर्न सकिन्छ । यसलाई हाइफोथिकेशन कर्जाका रूपमा पनि लिने गरिन्छ । कुनै व्यक्तिले मोटरसाइकल वा कार खरीद गर्दा बैंक वा वित्तीय संस्थासँग कर्जा लिन्छ भने हाइफोथिकेशन वा हायर पर्चेजमा पर्न आउँछ । यस प्रकारको कर्जामा सवारी साधन बैंक वा वित्तीय संस्थामा धितोका रूपमा रहन्छ भने स्वामित्व र कव्जा कर्जा लिनेसंग रहन्छ । यस कर्जामा सवारी साधनकोे मूल्य बैंक वा वित्तीय संस्थाले विक्रेता व्यक्ति वा संस्थालाई भुक्तानी गरी खरीद गर्नेगरी करार लिखत गरिन्छ । कर्जा लिखतमा खरीदकर्ता अर्थात् ऋणीले किस्ताकिस्तामा करारमा तोकेको अवधिभित्र कर्जाको साँवाब्याज चुक्ता गर्दै जानुपर्छ । अन्तिम किस्ता चुक्ता भएपछि सवारीसाधनको पूर्ण स्वामित्व ऋणीमा हस्तान्तरण गरिने व्यवस्था रहन्छ । ऋणीले चाहेमा बैंक वा वित्तीय संस्थाको सहमतिमा सवारीसाधन अन्य व्यक्तिलाई विक्री गर्नेगरी तिर्न बाँकी कर्जा बैंक वा वित्तीय संस्थालाई तिर्नेगरी कर्जा हस्तान्तरण गर्न पनि सक्छ । यसरी कर्जा हस्तान्तरण गर्दा बाँकी किस्ता रकम नयाँ खरीदकर्ताले बुझाउँदै अन्तिम किस्ताचुक्ता भएमा नयाँ खरीदकर्ताको नाममा सवारीसाधन नामसारी गरिन्छ । मुलुकी देवानी संहितामा हायर पर्चेज कर्जासम्बन्धी व्यवस्था छैन । तर पनि बैंक तथा वित्तीय संस्थासँग कर्जा लिँदा हायर पर्चेज कर्जाअन्तर्गत सवारीसाधन सुरक्षण स्वरूप धितो राख्न सक्छ । कर्जा सुरक्षण स्वरूप धितो वा धरौट राख्न सक्ने व्यवस्था नभएको होइन । मुलुकी देवानी संंहिता दफा ५८५.(१) मा कुनै व्यक्तिले कसैलाई ऋण दिँदा त्यस्तो ऋणको सुरक्षणबापत धितो लिएकोमा धितोसम्बन्धी करार र कसैले कुनै व्यक्तिलाई कुनै काम गराउँदा त्यस्तो काम पूरा गर्ने जमानतका लागि कुनै वस्तु धरौट लिएकोमा धरौटसम्बन्धी करार भएको मानिने व्यवस्था छ । उक्त संहिताको दफा ५८६.(१) ले करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ऋणका लागि धितो राखिएको हो उक्त ऋण चुक्ता भएपछि वा जुन कामका लागि धरौट लिएको हो त्यो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरौट उक्त धितो वा धरौट राख्ने व्यक्तिलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ । हायर पर्चेज कर्जामा कर्जा सुरक्षणबापत धितो वा धरौटीसम्बन्धी मुलुकी देवानी संहितामा भएका व्यवस्थाले केही मद्दत गर्न सक्छ । हायर पर्चेज कर्जासम्बन्धी विशेष कानूनी व्यवस्था नरहे तापनि प्रचलित करारसम्बन्धी कानूनी व्यवस्थाका आधारमा बैंक तथा वित्तीय संस्थाले वा सहकारीले हायर पर्चेज कर्जा दिने गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ४९(१) मा बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा दिन सक्ने व्यवस्था छ । तर, उक्त कर्जा करारसँग सम्बद्ध भएकाले मुलुकी देवानी संहितामा हायर पर्चेज करारसम्बन्धी व्यवस्था हुनुपर्ने देखिएको छ । त्यस्तै सहकारीले पनि हायर पर्चेज कर्जा दिने गरेको छ । यसबारे सहकारी ऐन २०७४ मा कुनै व्यवस्था छैन । मुलुकी देवानी संहितामा भएको हायर पर्चेजसम्बन्धी व्यवस्था चल सामान उधारोमा खरीद विक्री गरिने र खरीदकर्ताले सामानको भोग एवम् कब्जा आफ्नोमा रहने गरी रकम किस्ताकिस्तामा भुक्तानी गर्दै अन्तिम किस्ता भुक्तानी भएपछि सामानको पूर्ण स्वामित्व खरीदकर्तामा हस्तान्तरण हुने हुँदा उक्त देवानी संहिताले हायर पर्चेज कर्जासँग सम्बद्ध देखिँदैन । देवानी संहितामा नै हायर पर्चेजमा सामान खरीद विक्री गर्दा कुनै बैंक तथा संस्था, सहकारी वा साहूसँग कर्जा लिन दिन सक्ने कर्जा दिने दिनेको दायित्वसम्बन्धी व्यवस्था हुन सकेमा यसले सर्वसाधारण र कर्जा दिनेबीच कानूनी व्यवस्थाबाट लेनदेन गर्ने दुवैमा संरक्षणको वातावरण सृजना हुन्छ । हायर पर्चेज कर्जा कानूनी व्यवस्था भएमा हायर पर्चेज कर्जा लिई सामान लिने व्यक्तिले हायर पर्चेज करारबमोजिम आफूले लिएको सामानउपरको हक, हित वा दायित्व र त्यस्तो करारअन्तर्गत निजले प्राप्त गर्न सक्ने अन्य कुनै हक, हित वा दायित्व त्यस्तो कर्जा दिने बैंक वा वित्तीय संस्थाको स्वीकृति प्राप्त गरी अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने कानूनी अधिकारप्राप्त हुने देखिन्छ । कुनै कारणले कर्जा तिर्न नसकेमा कर्जामा लिएको सामान अन्य व्यक्तिबाट तिर्नेगरी हक हस्तान्तरण गर्न सक्ने कानूनी व्यवस्थाबाट कर्जा असुलीमा पनि सहज वातावरण सृजना हुन सक्छ । लेखक अधिवक्ता हुन् ।