सुपरयोटको विक्री बढ्यो

जेठ ५, वाशिङटन डीसी (अमेरिका) । सुपरयोटको विक्री बढेको छ ।   विश्वका धनाढ्यहरु कोभिड–१९ का कारण लगाइएको लकडाउन र यात्रा प्रतिबन्धबाट भाग्न खोजेसँगै सुपरयोटको विक्री बढेको हो । यस वर्षको अहिलेसम्मको अवधिमा धनाढ्यहरुले सुपरयोटमा १ अर्ब पाउन्ड स्टर्लिङ भन्दा धेरै खर्च गरेका छन् ।  बोट इन्टरनेशनलका अनुसार यस वर्ष सकेन्ड ह्यान्ड विक्रीको आकार पनि अहिलेसम्मकै उचाइमा पुग्ने छ । धनीहरुले यस्तो पैसा खोपमा खर्च नगर्नुलाई परोपकारी संस्था अक्सफाम इन्टरनेशनलले भने अश्लिलको संज्ञा दिएको छ ।  सुपरयोटमा खर्च भएको रकम नेपालको जनसंख्यामा पूर्ण रुपमा खोप लगाउन पुग्नेसमेत संस्थाको भनाइ छ । गत वर्षको गर्मीमा सुपरयोट किन्ने प्रवृत्ति देखा परेको थियो ।  यो अहिलेसम्मकै कीर्तिमानी उचाइतर्फ लम्किएको पनि बोट इन्टरनेशनलले बताएको छ । २४ मिटरभन्दा लामो अनि क्रुको आवश्यकता पर्ने योटलाई यसले सुपरयोटको रुपमा परिभाषित गरेको छ । सेकेन्ड ह्यान्ड साना सुपरयोटको मूल्य १० लाख देखि ५० लाख यूरोसम्म पर्छ । यस अवधिमा आधाभन्दा धेरै सुपरयोट अमेरिकामा विक्री भएका छन् । यस वर्ष विक्री भएका तीन ठूला सेकेन्ड हयान्ड योट सोलो, एलिक्जिर र लेडी शेरिडान हुन् । यिनीहरुको मूल्य क्रमशः ५ करोड ५० लाख पाउन्ड, ३ करोड ३५ लाख पाउन्ड र २ करोड ४७ लाख पाउन्ड रहेका छन् । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापकले किनेको सुपरयोटको मूल्य करीब ३५ करोड डलर रहकेो अनुमान गरिएको छ । एजेन्सी