राप्तीनदी वरिपरि पर्ने बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वडाहरू बाढी र डुबानको अत्यधिक जोखिममा रहेकोले ती क्षेत्रमा बाढी आउनुपूर्व नै आपतकालीन खोज, उद्धार र सचेतनाको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
राप्तीनदी वरिपरिका क्षेत्रहरूमा बर्सेनि बाढी आउने र डुबान हुने गरेकोले मनसुन पूर्वतयारी योजना, २०७७ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर सोहीबमोजिम जोखिम भएका क्षेत्रमा पहिलेदेखि नै सचेतना, उद्धार र राहातको सबै तयारी पूरा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।
उहाँले दुई वटा योजना बनाएर राप्तीवरिपरिका सबै स्थानीय तहमा राहत तथा उद्धार सामाग्रीहरू पुर्याउनुका साथै नरैनापुरको गङ्गापुरमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमासमेत उद्धार सामग्री पठाएर प्रहरीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।