काठमाडौं (अस) । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बझाङको बित्थडचिर गाउँपालिका र डडेल्धुराको आलिताल पालिकामा नबिल दिगो बैंकिङअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले बित्थडचिर र आलिताल पालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहँुचका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । साझेदारीमार्फत पालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहनेलाई गाउँपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउनेछ ।
त्यस्ता कार्यक्रम/तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले बताएको छ । यस्तै, बैंकले बैतडीको पञ्चेश्वर पालिकामा ८ दिने तालिम कार्यक्रम सुरु गरेको छ । पञ्चेश्वरमा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउन उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी ८ दिने तालिम दिइने बैंकले जनाएको छ ।
कार्यक्रमका लागि बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर पालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो । कार्यक्रममार्फत स्थानीय युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम दिएर उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।