निर्वाचन क्षेत्रमा बजेट छुट्याउँदा प्रतिपक्षीले पनि ताली बजाए : मन्त्री आङ्बो

२ असार, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सांसदको भावना सम्बोधनका लागि प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम बजेटमा समावेश गरेको बताएका छन् । बिहीबार विराटनगरमा बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफू निर्वाचन क्षेत्र विशेष कार्यक्रमको विपक्षमा रहे पनि सांसदहरुको आग्रहमा बजेट वक्तव्यमा समावेश गरेको बताए । ‘हिजो […]

सम्बन्धित सामग्री

किन होला ?

आज हरेक नेपालीलाई राजनीतिमा धेरै लगाव छ । तर देशसँग राष्ट्रिय नेताको नितान्त अभाव छ । यहाँ गरीबी हटाउने भनेर सबैले राजनीति गरिरहेका छन् । तर गरीबका नाममा केवल आआफ्नै पेट पो भरिरहेका छन् । त्यो राजनीतिबाट न कुनै गरीब सुखी र खुशी देखिन्छन् । न त धनी, न त उद्योगी व्यवसायी, न त सरकारी हाकिम वा कर्मचारी । सांसद मन्त्री बन्यो भने हरेक दिन मन्त्रालय जान हतारिन्छ । सांसद मात्रै रहुन्जेल भने हाटा गरेर भत्ता मात्र पक्का गर्छ ।   किन होला ? जता हेर्‍यो, त्यतै घोटालै घोटाला छ, हजारौं लाखौंको होइन, करोडौं, अर्बौंको हवाला छ । त्यत्रो धन नेताहरूले के गर्छन् होला, सोचेरै हैरान छु । आफू भने कसरी बाँच्ने, सर्वसाधारण कसरी बाँच्लान् भन्नेमै परेशान छु । पहुँचवालालाई त सरकारले करोडौं रुपैयाँ सित्तैमा दिन्छ पटक पटक । सत्ता र भत्ताकै लागि गठबन्धन बनाउने र तोड्ने चलिरहन्छ चटकै चटक । निमुखालाई चैं भित्तैमा पुर्‍याउने पटक पटक ? किन होला ? हिजोसम्म कुकुरहरूसँग जो लड्थे अगाडि हुन्थ्यो हड्डी, आज तिनै कुर्सीका लागि आपसमा लड्दै छन् कबड्डी । हिजो जो दुई छाक खान र एकसरो लाउनकै लागि थिए लाचार, आज एकअर्कोको पेटमाथि पो भएछन् सवार । समयले सबैको गर्ला नै हिसाब किताब । तर त्यो त पछिको कुरा न हो । निमुखाले भोगिसकेको त्रासदीको चाहिँ कसले र कहिले गर्ला हिसाब ? कुरा चैं जहिले पनि एउटा सुनौलो भविष्यकै हुन्छ । र सरकारचैं जहिले पनि भोका नांगाकै बन्छ । तर भोका नांगाहरू रोई नै रहने अवस्था हुन्छ । किन होला ? हुन पनि हो । जिन्दगीभरि भोको कोही जब चुनाव जितेर आउँछ, उसले आफ्नै पेट भर्ने उपायबाहेक अरू के गर्छ ? त्यसैले त नाँगा, लफंगा, लुटेराहरू मन्त्री बन्छन् । अनि नांगोले जीउभरि कपडा लाउँछ र अपराधीले आफ्नो रेकर्ड सुधार्छ । अरूको भने केही हुन्छ कि भन्ने आशैआशमा दशकौं यसै खेर गए । तर बलात्कारीहरू एक एक गर्दै जेलबाट त्यसै छुट्ने धेरै भए । किन होला ? सभा, गोष्ठीका नाममा जलपान, झोलपान गर्ने उनीहरू । गरीब, दलितका कोटाका लाभ झोलामा भर्ने उनीहरू । यहाँसम्म कि जेलमै बस्नुपरे पनि त्यहीँ फाइभ स्टार होटलको सुविधा लिने पनि उनीहरू । हामीले मन्त्र पढेर ल्याएको यो कस्तो तन्त्र हो ? जनता सधैं दुविधामा नेताहरू सुविधै सुविधामा । किन होला ? सर्वसाधारणका लागि अब त दुई छाक खाने सुविधाको पनि अभाव छ भारी । यो लाचारीमा पनि नेताकै छ लावालस्करसहित विशेष सवारी । यस्तोमा यो सुशासन र विकासको नारा किन खोक्ने ? विकास गर्छु भनेर फुँइ लाउनेले फेरि संसद्मा जाँदा घाटाको बजेट ब्रिफकेसमा बोक्ने । किन होला ? अहिलेसम्म सरकारी अर्थशास्त्र र विकासको मोडल यस्तोे देखिन्छ– जग्गाजमीन बेचेर गाडी, मोटरसाइकल किन्ने । रेमिट्यान्स ल्याएर टीभी, फ्रिज र स्मार्टफोन किन्ने  । गाउँको पुर्खाको सम्पत्ति बेचेर शहरमा डेरामा बस्ने वा गाउँको जग्गा बेचेर विदेश गई कमाएर फेरि शहरमा जग्गा किन्ने । दुईचार पैसा कमाउने चाहिँ स्वीट्जरल्याण्ड वा थाइल्यान्डतिरै घुम्न हिँड््ने । यस्तो किन होला ? नाटक र चलचित्रमा पहिल्यै लेखिएको हुन्छ स्क्रिप्ट सोहीअनुसार नै अभिनय गरिन्छ भन्ने हामी सबैलाई छ स्पष्ट । तर पनि हलमा गएर ताली ठोक्न छाड्दैनौं । त्यस्तै, राजनीतिक नाटकमा टपर्टुइयाँ नेताका बकवास गालीमा ताली पिट्न छाडेका छैनौं । यस्तै तालीले त तिनलाई जाली बनाको होला । तैपनि यस्तैले अझै यो देश बनाउँछन् भनेर विश्वास छाडेका छैनौं । हैन, नेपालीलाई यस्तो के भाको र किन होला ? देशमा जो भेट्यो, उही देश बिग्य्रो, बर्बाद भयो भनेर छक्कै यो बर्बाद पार्ने चाहिँ को होला ? अर्कै ग्रहको नेपाली कि हामी आफै ? ढुंगा, माटो र पानीले बनेको देश त कसरी बिग्रन्थो होला र ? बिग्रेको त हामी जनता नै हौं, अरू को होला ? हामी घरको फोहोर जथाभावी फ्याँक्ने अनि सरकारले सफा गरेन भन्दै सराप्ने । आफू वरको सिन्को पर नसार्ने अनि अर्काले गरेन भन्ने । आफू एक इन्च जमीन नछाड्ने अनि बाटो फराकिलो चाहिने । आफू चाहिँ आफ्नै स्वार्थमा अल्झिने अरूलाई भने भगवान् जस्तो भइदेओस् भन्ने । सबैभन्दा पहिले त हाम्रो नियत र चरित्र पनि त सफा हुन छ आवश्यक । नियत सफा भएपछि शहर त आफै सफा भैहाल्छ । यति सामान्य कुरा पनि बुझ्न नखोज्ने हाम्रो रबैया छ । किन होला ? हाम्रो देशमा जुनसुकै दलको भए पनि जो सुकै सरकारमा गए पनि सरकारहरू एउटा कुरामा भने अत्यन्त सफल छन् । हरेक पटक सिन्को नभाँची आफ्नो कार्यकाल सिध्याइदिन्छन् । सधैं यस्तो किन होला ? किनकि सच्चा नियत तिम्रो न थियो, न छ, न हुनेछ काममा इमान तिम्रो न थियो, न छ, न हुनेछ तिम्रो धन्दा नै हो कि तिमी जनताको पाकेट मारिरहन्छौ तर पनि माफी माग्ने बानी तिम्रो न थियोे, न छ, न हुनेछ ।

को कति खुशी ?

हिजोआज शेयर बजारले सरकारमा को छ भनेर वास्तै गर्न छाडेजस्तो छ । सरकारमा जो उकालो चढे पनि, जो ओरालो झरे पनि, शेयर इन्डेक्स भने उकालो लाग्या लाग्यै छ । तर शेयर बजार जति माथि उफ्रे पनि महँगीको उचाइलाई भने छुन सक्ला जस्तो देखिन्न है ! हरेक दुई दिन बिराएर पेट्रोलियमको भाउ बढ्ने भएसि यातायातको भाडा त बढ्ने नै भयो । सामान ढुवानी गर्ने यातायातको भाडा बढेपछि, नूनदेखि सुनसम्म आयात गरेर ल्याउने देशमा महँगी नबढेर अरू के बढ्छ त ? यहाँ आवश्यकता चैं को कति खुशी छ भनेर जान्नुभन्दा पनि कुन ठाउँमा चैं बढी खुशी पाइन्छ भन्ने हो । बालुवाटारमा कि बूढानीलकण्ठमा, कि बालकोटमा ? कोटेश्वरमा कि खुमलटारमा ? भन्सारमा कि टक्सारमा ? करमा हुँदा कि करारमा ? मिनिस्टर हुँदा, रेक्टर हुँदा, कि बैंकको डाइरेक्टर हुँदा ? तर रमाइलो कुरा यो छ कि महँगी बढेर सबै दुःखी भने नहुँदा रहेछन् । दिन दुई गुणा, रात नौगुणा गरेर कमाउनेहरूलाई बिचरा महँगीले के भेट्न सक्थ्यो ? त्यसरी कमाउनेहरू किन दुःखी हुन्थे ? सस्तोमा खरीद गरेको माल धेरै महँगोमा बेच्ने मौका पाउनेहरू पनि किन दुःखी भइराख्थे र ? सस्तैमा पाउने वस्तुलाई पनि महँगो तिरेर किन्नुपर्ने बाध्यतामा परेकाहरू भने दुःखी हुने नै भए । त्यसैले एउटै घटनाले पनि कसैका लागि दुःख भने कसैका लागि सुख ल्याउने रहेछ । जस्तै– हालै बालुवाटारबाट बालकोट पुग्नेहरू दुःखी भए भने बूढानीलकण्ठबाट बालुवाटार पुग्नेहरू खुशी भए । त्यस्तै एउटै दलका सदस्यमध्ये कोही पक्षलाई भोट हाल्दा खुशी भए भने कोही विपक्षीलाई भोट हाल्दा खुशी भए । त्यसमध्ये कति त अरू खुशी भएको देखेर आफू दुःखी भए । त्यसैले यो कुरा पत्ता नलगाई नहुने भाछ कि मान्छे किन खुशी हुन्छ र किन दुःखी हुन्छ ? खुशी हृदयमा रहन्छ कि मस्तिष्कमा, या दुवैमा ? अनि खुशी र सुखी हुनुमा के फरक छ ? अरूको खुशीमा मानिस किन दुःखी हुन्छ वा अरूको दुःखमा किन खुशी रहन्छ ? सुखीको सुख देखेर सुखी र दुःखीको दुःख देखेर दुःखी हुने मानिस कति होलान् यस धर्तीमा हँ ? अनि को कति खुशी वा दुःखी छ भनेर कसरी थाहा पाउने ? हुुन त को कति खुशी छन् भन्ने थाहा पाउन कुन कुन संस्थाले हो निकै खोजतलास गरेर केही वर्षयता ‘ह्याप्पीनेस इन्डेक्स’ याने खुशीको सूचक सार्वजनिक गर्न थालेका छन् क्यारे । तर यहाँ आवश्यकता चैं को कति खुशी छ भनेर जान्नुभन्दा पनि कुन ठाउँमा चैं बढी खुशी पाइन्छ भन्ने हो । बालुवाटारमा कि बूढानीलकण्ठमा, कि बालकोटमा ? कोटेश्वरमा कि खुमलटारमा ? भन्सारमा कि टक्सारमा ? प्रहरीमा कि पानीजहाजमा ? आयल निगममा कि वायुसेवा निगममा ? करमा हुँदा कि करारमा ? मिनिस्टर हुँदा, रेक्टर हुँदा, कि बैंकको डाइरेक्टर हुँदा ?   तर ठूल्ठूला पदमा पुगेका मानिस, धेरै सम्पत्ति कमाएका र सफल भनिएका मानिस पनि दिनरात बैठक, छलफल र तनावमै देखिन्छन् । यसरी सबै भौतिक सुख सुविधामा बसेर पनि धेरै मानिस सुत्नै सकिरहेका हुँदैनन् । अर्कोतर्फ, फुटपाथमा सुतेर पनि आरामको निद्रा निदाउने थुप्रै मानिस हुन्छन् । ठूल्ठूला पदधारी, डिग्रीधारी, पुरस्कारधारी मानिसलाई सुखीमा गणना गर्ने कि दुःखीमा, म रनभुल्लमा पो छु त । अर्को कुरा, एउटै मानिस एउटै कारणले शुरूमा खुशी हुन्छ, पछि दुःखी हुन्छ । जस्तै– उद्योगी व्यवसायीहरू हरेक सरकार परिवर्तनपछि वा बजेट वक्तव्यपछि खुशी देखिन्छन् । नयाँको स्वागतमा ताली पनि पिट्छन् । तर केही दिन वा महीनापछि त्यै सरकार, तिनै मन्त्री, तिनैका नीति कार्यक्रमबाट फेरि दुःखी हुन थाल्छन् । हिजो प्रतिपक्षमा हुँदा बजेट कार्यान्वयन नै हुन नसक्ने खालको ठूलो भयो, बजेटमा ढुँगागिट्टी निर्यात गर्ने लगायतका नीति राखेकोमा बजेट अति झुर भयो भनी छिछि दुरदुर गर्थे । तर आफू सत्तामा पुगेपछि त्यै बजेट राम्रो भन्दै फुरफुर गर्दै त्यै बजेट पास गर्दै छन् । यस्तै कुरा प्रायः विवाहित व्यक्तिमा झन् लागू हुन्छ । विवाहपूर्व तारा खसाल्नेहरू विवाहपछि बँगारा झार्नेतिर लाग्छन् । अझ राजनीतिक दल वा त्यसभित्रका गुट–उपगुटवाला जोडीहरू त सरकार बनाउने बेला देशको मुहारै बदल्ने कसम खाएर आपसमा चाटाचाट गर्छन् । तर केही समयपछि काटाकाट शुरू गर्छन् । आखिर यस्तो किन हुन्छ ? अर्को एउटा आश्चर्यलाग्दो के छ भने, आर्थिक विकासका सूचकहरूमा एकदमै दुःखी हुनुपर्ने स्थितिमा पुगेको छ हाम्रो देश । यस्तो अवस्थामा समेत ह्याप्पीनेस इण्डेक्सवालाहरूले नेपालीलाई सार्कमै खुशीवालामा पारिदिए । यस्तो कसरी भयो ? कि नेपालीहरू जे जस्तो छ, ठीकै छ, ‘सन्तोषम् परम् सुखम्’ भन्नेतिर लागेर खुशी नै देखिएर हो ? अर्थात् भाग्यवादी भएर हो ? कि नेपालीले सार्कमै साँच्चै राम्रो गरेर हो ? लौ न कोही ह्याप्पीनेस अर्थशास्त्री हुनुहुन्छ भने बताइदिनोस् न ! एउटै कारणले एउटालाई खुशी ल्याएको हुन्छ भने अर्कोलाई अपार दुःखको सम्भावना । त्यसैले मलाई लाग्दैन कि यस्तो कुनै खुशीको मापन गर्ने इन्डेक्स या तराजु बनाउने कुरा सफल होला भनेर । किनकि एकछिनमै तोला अर्को छिनमा मासा हुने खुशी नाप्ने इन्डेक्स वा तराजु बन्यो भने त सांसद जस्तै खुशीको पनि संसद्मै किनबेच हुन थाल्छ । जुन दिन खुशीको सौदाबाजी शुरू हुन सक्छ, त्यसको लाभ उठाउनेहरू पनि पक्कै थुपै्र हुन्छन् । तर दुःखको कुरा, प्रायः धेरै सुविधाबाट वञ्चित गरीबहरू सित्तैमा खुशी हुन सकिने यो मौकाबाट पनि वञ्चित हुनेछन् । किनकि विदेशीले अनुदानमा दिएको चामल त बाँड्न नसक्ने हाम्रो राज्य संयन्त्रले गरीबलाई खुशी किनेर बाँड्ला भनेर कसरी पत्याउने ? त्यसैले सरकारले सुख वा खुशी त के देला र ? बरु, गरिबको परिचयपत्र बाँड्ने सरकारले दुःखीहरूलाई दुःखीयाको नयाँ परिचयपत्र चैं झुन्ड्याइदेला है ? होशियार !