नयाँ स्टक एक्सचेन्ज आएपछि अहिलेको स्टक एक्सचेन्ज विलय नहोला भन्न सकिन्न : राजु पौडेल [अन्तरवार्ता]

७ वर्षदेखि शेयर बजारमा सक्रियरूपमा कारोबार गर्दै आएका राजु पौडेल पछिल्लो समय पोखरामा रहेर आफ्नै युट्युब च्यानलमार्फत शेयर बजारसम्बन्धी वित्तीय साक्षरता अभियान चलाइरहेका छन् । उनी शेयर बजार विश्लेषकका रूपमा पनि चिनिन्छन् । तिनै पौडेलसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले शेयर बजारको पछिल्लो अवस्थाबारे गरेको कुराकानीको सार ।  शेयर बजारमा तपाईंको सक्रियता कहिलेदेखि हो ? यो बजारलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? शेयर बजारमा अप्रत्यक्षरूपमा २०६८ सालदेखि जोडिए पनि सक्रियरूपमा २०७३ सालदेखि कारोबार गर्दै आएको छु । त्यो समयमा मैले विभिन्न पत्रपत्रिका तथा अनलाइनमा शेयर बजारसम्बन्धी लेखहरू पनि लखेको थिएँ । जागिरको सिलसिलामा म काठमाडौं थिए । त्यसपछि सरुवा भएर अहिले म पोखरामा छु । यहाँ मैले आफ्नै युट्युब च्यानलमार्फत दैनिकरूपमा शेयर बजारसम्बन्धी विश्लेषण गर्दै आएको छु । मेरो बुझाइमा यो एक जोखिमको क्षेत्र हो । यहाँ नबुझी, अध्ययन नगरी लगानी गरेमा जोखिम बढी हुन्छ ।  पछिल्लो समय शेयर बजारमा नयाँ लगानीकर्ताको आगमन भइरहेको देखिन्छ । सोही कारण डिम्याट खाताको सख्या ५५ लाखभन्दा बढी पुगेको छ । नयाँ लगानीकर्ताले ‘शेयर बजारबाट पैसा कमाउन सजिलो छ’ भन्ने बुझ्नुभएको छ । त्यो होइन, शेयर बजारबाट पैसा कमाउन सजिलो छैन । धेरै पटक बजारले डुबाउने–पछार्ने गर्छ । यस कारण पनि नयाँ साथीहरूलाई बजारमा प्रवेश गर्नुअघि गहिराइमा गएर बुझ्न जरुरी हुन्छ । नयाँ लगानीकर्तालाई मेरो सुझाव छ– पहिला स्विमिङ गर्न सिक्नुहोस् अनि यो नदीमा हाम फाल्नुहोस् ।  शेयर बजारको बारेमा धेरै नै अध्धयन गरेर सिकेर लगानी गरेमा जोखिमभन्दा पनि प्रतिफल बढी हुने देख्छु । मेरो अनुभवमा एक÷दुई पटकको बुल र बियर मार्केटलाई नबुझेसम्म सिकिँदो रहेनछ ।    नेपाल स्टक ए्रक्सचेन्जले नयाँ ब्रोकरलाई कारोबारको लागि सदस्यता दिएकोे छ । यसले गर्दा शेयर बजारमा कस्तो प्रभाव पर्ला ? पक्कै पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्नेछ । अहिलेसम्म ५० ओटा ब्रोकरको सिन्डिकेट थियो नेपालको शेयर बजारमा, त्यो तोडिएको छ । यस कारण पनि सबै लगानीकर्ता बधाइ भन्न चाहान्छु । यसबाट बजार विस्तार हुन्छ भने नयाँ ब्रोकरहरूले नयाँ नयाँ कलाइन्टहरू थप्छन् । यस कारण काठमाडौंको बजारमा मात्र बढी सीमित रहेको बजार अब नेपालको सबै जिल्लामा पुग्नेछ । यसबाट सबै ठाउँका मानिसहरू शेयर बजारसँग जोडिन्छ । शेयर बजार विकास विस्तारको लागि यो अब कोसेढुङ्गा सावित हुनेछ । त्यसपछि प्रतिसपर्धा बढ्नेछ । प्रतिस्पर्धा हुनेबित्तिकै हामी क्लाइन्टले नयाँ नयाँ सेवा सुविधा पाउनेछौं । अनि कमिसनमा पनि घट्ने देखिन्छ ।  धेरै लगानीकर्ताको माग ब्रोकर कमिसन घटाउनु पर्छ भन्ने छ, प्रतिस्पर्धा भएसँगै यो कमिसन पनि घट्ने देख्छु । तसर्थ बजार विस्तारका लागि र क्लाइन्टको सेवा सुविधाका लागि राम्रो हुन्छ ।  नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया अहिले रोकिएको छ । नेपालमा अर्को स्टक एक्सचेन्जको आवश्यकता छ कि छैन ?  यसका लागि एउटा सानो उदाहरण दिन चाहान्छु । केही वर्षअगाडि नेपालमा एउटा मात्रै दुरसञ्चार कम्पनी नेपाल टेलिकम थियो । जुन समयमा नेपाल टेलिकमको सिम लिनको लागि दिनभर लाइन बसेको मलाई अनुभव छ । त्यति गरेर सिम ल्याएपछि पनि राम्रोसँग टावर नटिप्ने जस्ता धेरै समस्या थिए । जब दूरसञ्चार क्षेत्रमा एनसेलको प्रवेश भयो, त्यसपछि प्रतिस्पर्धा बढ्यो, एनटीसी (नेपाल टेलिकम)ले पनि राम्रो सेवा सुविधा दिन थाल्यो । त्यो हामीले नै देखेका, भोगेका छौं । सोही कारण अहिलेको नेपाल स्टक एक्सचेन्जलाई अझै प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउनको लागि पनि एउटा नयाँ स्टक एक्सचेन्ज चाहिएको हो । नयाँ स्टक एक्सचेन्ज आइसकेपछि अहिलेको स्टक एक्सचेन्जले पनि आफूलाई अपग्रेड गर्नुपर्ने हुन्छ, नत्र त्यसको विलय हुने अवस्था नआउला भन्न सकिन्न । अहिले एकाधिकारजस्तै छ, जस्तो सेवा सुविधा दिए पनि हामीहरूलाई विकल्प छैन । यस कारण पनि अर्को नयाँ स्टक एक्सचेन्ज आवश्यकता भएको हो । हरेक व्यवसायमा प्रतिस्पर्धा हुनु जरुरी छ । प्रतिस्पर्धा हुनेबित्तिकै राम्रो सेवा सुविधा पाइन्छ । नेपालमा दुई ओटा स्टक एक्सचेन्ज नचाहिने भनेर रोकिएको होइन । अहिले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया रोक्नुको कारण एउटाका लागि तीन कम्पनीले दाबी गरेका छन् । पाउने एउटाले हो र बाँकी दुई कम्पनी त हट्छन् । यस कारण नपाउने समूहको पहलमै रोकिएको जस्तो लाग्छ ।  जलविद्युत कम्पनीले विद्युत विक्री अनुमति पाएको ३० वर्षपछि सरकारी स्वामित्वमा हस्तान्तरण हुने व्यवस्था छ । त्यसपछि सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ? पछिल्लो समय धेरै जनाको चासोको विषय हो यो । ३० वर्षपछि कम्पनीहरू पूर्णरूपमा सरकारी हुने भन्ने व्यवस्था छ । त्यसरी सबै सरकारी भएमा अहिले लगानी गरेका लगानीकर्ताको पैसा के हुन्छ भन्ने अन्योल हुन सक्छ । विदेशमा के कस्तो अभ्यास गरिएको छ, अध्ययन गरेर नयाँ नियम ल्याउनु पर्छ । पछिल्लो समय हाइड्रोपावर कम्पनीका संस्थापक शेयरको लकिङ पिरियड तीन वर्षको छ, त्यसपछि सम्पूर्ण शेयर सर्वसाधारणमा परिवर्तन हुने नियम छ । यसबाट एउटा विकृति पनि आएको छ । तीन वर्षपछि हकप्रदको फण्डा लिएर शेयर मूल्य माथिल्लो विन्दुमा पुर्‍याउने अनि प्रमोटरहरू शेयर बेचेर बाहिरिने गरेका छन् । यस विषयमा कति प्रतिशत प्रमोटरमा राख्ने, कति सर्वसाधारणमा लैजाने भन्ने नियामक निकाय नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगबीच छलफल चलिराखेको छ । त्यस्तै ३० वर्ष पुगेको कम्पनीहरूको हकमा पनि पक्कै केही नयाँ नियम आउँला । यसकारण सर्वसाधरणको लगानी सरकारीकरण हुँदैन जस्तो लाग्छ ।  राजधानीबाहिर बसेर पूँजी बजारमा सक्रिय हुनुहुन्छ, पोखराका मानिसमा शेयरप्रतिको आकर्षण कस्तो छ ?  काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै ब्रोकर संख्या र सक्रिय कारोबारी भएको सहर पोखरा हो । त्यसपछि दोस्रोमा बुटवल पर्छ । पछिल्लो समय पोखरामा धेरै साथीहरू शेयर बजारप्रति आकर्षित भएको देखेको छु । शेयर बजारसम्बन्धी कार्यक्रममा हुँदा त्यहाँ युवा, विद्यार्थी र गृहिणी महिलाहरू बढी आउने गर्नुहुन्छ । यसरी हेर्दा नेपाली जनतामा शेयर बजारको सचेतना बढेको हो कि जस्तो लाग्छ । सोही कारण पछिल्लो समय हरेक क्षेत्रका मानिसहरू शेयर बजारप्रति चासो राख्न थालेका छन् ।   लगानीकर्ताको लागि शेयर खरीद एवं विक्रीको लागि कस्तो समय उपयुक्त हुन्छ ? के कस्ता कुरामा ध्यान दिनुपर्छ ? लगानीकर्ताले अरुको भनाइ, सामाजिक सञ्जाल र हल्लामा लागेर लगानी गर्नुहुँदैन । लगानी गर्नुपूर्व बजार र कम्पनीको बारेमा सूक्ष्म अध्ययन अनुुसन्धान गर्नुपर्छ । दीर्घकालीन लगानी गर्दै हुनुहुन्छ भने कम्पनीको आधारभुत पक्ष, जस्तै : प्रमोटरहरू, लाभांश इतिहास, वितरणयोग्य मुनाफालगायत वित्तीय विवरणहरू राम्रोसँग केलाएर लगानी गर्नुहोस् भन्न चाहान्छु ।  यदि कारोबार गर्दै हुनुहुन्छ भने प्राविधिक विश्लेषणलाई पनि राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ । कति बेला खरीद अथवा विक्री अनि स्टपलस गर्ने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी छ । यी विषयमा नबुझी लगानी गर्‍यौं भने पौडी खेल्न नजानेको व्यक्ति नदीमा हाम फाल्दा जे हुन्छ, शेयर बजारमा पनि त्यही हुने गर्छ । बजार सधैं घट्ने पनि होइन भने बढ्ने पनि होइन । घटेको बेलामा खरीद गर्न डराउनु हुँदैन भने बढेको बेलामा पनि विक्री गर्न सक्नुपर्छ । बढेको बेलामा अझै बढ्छ भनेर हामी बेच्न डराइराखेका हुन्छौं । यस्तो अवस्थामा आफूले एउटा योजना बनाउनुपर्छ । सोही योजना अनुरूप प्रोफिट बुक गर्न सक्नुपर्छ । धेरै जनाले किन्न जान्नुहुन्छ अनि समयमै बेच्न नसकेको र फसेको धेरै देखेको छु मैले । यस कारण पनि सही समयमा खरीद गर्न र विक्री गर्न जान्नुपर्छ । यो कुरा जान्नका लागि आफूलै धेरै बुझ्न र सिक्नु जरुरी छ । लगानी गर्नुपूर्व कम्पनीको समग्र अवस्था, बजारको ट्रेण्ड, प्राविधिक विश्लेषण र देशको समग्र राजनीतिक आर्थिक अवस्था बुझेर लगानी गरियो भने शेयर बजारबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । कारोबारीले भन्दा पनि दीर्घकालीन लगानीकर्ताहरुले धेरै कमाएको देखेको छु । पछिल्लो समय नेपालका ९० प्रतिशत लगानीकर्ता ट्रेडर (कारोबारी) भइसकेका छन् । ट्रेडरले कमाउन भन्दा धेरै गुमाएका हुन्छन् स्टपलस गर्दा, यस कारण पनि लगानीकर्ताले दीर्घकालीनरूपमा राम्रो कमाउँछ । अब हाम्रो शेयर बजारको बियरिस यात्रा सकिएको छ, अब बुलिस शुरु हुनेछ । कम्पनीको सबै पक्षहरू राम्रोसँग केलाएर लगानी गर्न सकेमा राम्रो प्रतिफल प्राप्त हुन्छ ।