डीएनए परीक्षणको बाध्यताले सुपारी निकासीमा समस्या

विराटनगर । इन्डोनेशियाबाट आयात हुने सुपारीका कारण कोशी प्रदेशमा उत्पादित सुपारीले भारतीय बजार गुमाउन थालेको छ । एलसी खोलेर तेस्रो मुलुकबाट आयात भएको सुपारी अवैध बाटो हुँदै भारतीय बजार पुर्‍याइने गरेको घटनालाई आधार बनाएर संसदीय समितिले सुपारीको डीएनए परीक्षण गर्न निर्देशन दिएपछि नेपाली उत्पादनले भारतीय बजार गुमाउन थालेको हो । एक वर्षअघि भारत निकासी गर्न खोज्दा झापाको उत्पत्तिको प्रमाणपत्र भएको चार ट्रक सुपारी विवादमा पर्‍यो । विराटनगर र भारतीय भन्सारबाट जाँचपास सकिएको सुपारी मिरगञ्जको पुल भत्किएका कारण पुन: विराटनगर हुँदै सुनसरीको भण्टाबारी नाकाबाट लैजानुपर्ने भयो । त्यही क्रममा उक्त सुपारी प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो । पछि राजस्व अनुसन्धान विभागको निर्देशनमा ५ महीनापछि रोकिएको सुपारी निकासी भएको थियो ।  उक्त सुपारीको विषय सदनसम्म पुग्यो । संसदीय समितिले सुपारी पहिचानका लागि डीएनए परीक्षण गराउन सरकारलाई निर्देशन दियो । तर, त्यस्तो परीक्षण गर्ने प्रयोगशाला र कृषि उपजको डीएनए परीक्षण गर्ने इतिहास नै नभएका कारण यसपटक किसानले ५५ रुपैयाँ किलोमा काँचो सुपारी बेचे पनि व्यापारीलाई निकासीको चिन्ताले सताएको छ ।  इन्डोनेशियाबाट ल्याएको सुपारी भारतीय बजारमा बेच्दा किलोमै ५ सय रुपैयाँ नाफा हुने भएकाले व्यापारीले सरकारको उच्च तहसँग मिलेर तोकिएको कोटा बराबर सुपारी आयात गर्थे । मोटो रकमको चलखेल भएको भन्दै सुपारी निर्यात गर्दा अनिवार्य डीएनए परीक्षण गर्नुपर्ने व्यवस्था गरिएपछि सुपारी किसान र व्यापारी मारमा परेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडा बताउँछन् ।  उनी भन्छन्, ‘आयात गर्दा डीएनए परीक्षण गर्नुपर्ने प्रावधान छैन । निकासीमा डीएनए परीक्षण गरी नेपालकै उत्पादन भएको प्रमाणित गर्नुपर्छ । अनिमात्र भारत निकासी गर्न पाइन्छ । यो प्रावधानले किसान र व्यापारी दुवैलाई समस्या भएको छ ।’  नेपालबाट भारत निकासी हुने अन्य कृषि उत्पादनमा डीएनए परीक्षण आवश्यक छैन । सुपारीमा मात्रै यस्तो व्यवस्था हुनु अन्यायपूर्ण रहेको उनले बताए । खतिवडा भन्छन्, ‘हामीले झापामा सुपारी खेती हुन्छ, यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत सुपारी जोन छ भनेर संसदीय समितिका सदस्यहरूलाई बगान घुमाएपछि मात्र उहाँहरू विश्वस्त हुनुभयो । तर, पहिले नै निर्देशन दिएर आउनुभएको रहेछ । हामी संशोधन गर्छौं भन्नुहुन्थ्यो, तर अहिलेसम्म भएन ।’  यसपालि झापाका किसानले ५५ रुपैयाँ किलोका दरले व्यापारीलाई सुपारी बेचेका छन् । निकासी सहज भइदिए आफूहरूले पनि राम्रै मूल्य पाउने किसानको अपेक्षा छ ।  उर्लाबारीका सुपारी थोक विक्रेता खुश्बु शर्माले यसपटक किसानसँग ५५ रुपैयाँ किलोको दरले सुपारी किनेको बताइन् । किसानसँग किनेको सुपारी उनी प्रशोधन गर्ने कम्पनीलाई विक्री गर्छिन् । प्रशोधन कम्पनीले प्रशोधन गरेर थोक व्यापारीलाई बेच्छन् । बजारमा सुकेको सुपारीको मूल्य अहिले प्रतिकिलो ७ सय रुपैयाँ छ । यो सिजनको सुपारीको नयाँ फल माघदेखि बजारमा आउन थालेको छ । 

सम्बन्धित सामग्री

सुपारी निर्यात अवरोधले दिएको सन्देश

तेस्रो मुलुकबाट सुपारी आयात गरी भारत निर्यात गर्ने प्रवृत्ति रोकी नेपाली सुपारीको निर्यात सहज बनाउन खोज्दा उल्टै नेपाली किसान र निर्यातकर्ता मर्कामा परेका छन् । कुनै पनि कुराको निर्देशन दिएपछि त्यसले केकस्तो समस्या आउन सक्छ भन्नेमा पर्याप्त अध्ययन नगरी दिइने निर्देशनले ‘झिकिदे गाँडभन्दा थपिदे गाँड’ को काम गरेको छ । सुपारी निर्यातमा मात्र होइन अन्य विषयमा समेत यस्तो समस्या आउने गरे पनि संसदीय समिति वा सरकारले सम्भावित असरको अध्ययन गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्न सकेको देखिँदैन । यसो हुनु निकै विडम्बना हो ।  इन्डोनेशियाबाट सुपारी आयात गरी नेपाली सुपारी भन्दै भारत निर्यात हुने क्रम बढेपछि यसलाई रोक्न संसदीय समितिले डीएनए परीक्षण गरेर उत्पत्तिको प्रमाणपत्र दिन निर्देशन दियो । नेपालमा सुपारीको डीएनए परीक्षणका लागि प्रयोगशाला नभएको र विगतमा यस्तो परीक्षण नहुने गरेकाले यो निर्देशनका कारण किसानहरूले सुपारी निर्यात गर्न सकेनन् । संसदीय समितिले निर्देशन दिनुपूर्व यस्तो निर्देशनले कहाँकहाँ असर पर्छ, त्यस्तो परीक्षणको प्रयोगशाला छ कि छैन र त्यसले अन्तरराष्ट्रिय मान्यता पाउँछ कि पाउँदैन भनेर ध्यान नदिएको यसले पुष्टि हुन्छ । यस्तो हचुवा निर्देशन दिने र त्यो गलत भएको भनेर थाहा पाएपछि तत्कालै सच्याउने परिपाटीसमेत नहुँदा निर्यातमा समस्या परेको देखिन्छ । सुपारीमात्र होइन, विगतमा मुसुरोका दाल पनि अन्य देशबाट आयात गरेर बंगलादेशमा निर्यात गरिन्थ्यो । तर, अहिले त्यो क्रम रोकिएको छ र निर्यात पनि निकै घटेको छ । त्यसो त विगतका वर्षहरूमा नेपालले तेस्रो मुलुकबाट सूर्यमुखीको कच्चा तेल आयात गरी भारत निर्यात गथ्र्यो । यसमा चाहिँ नेपालमा केही प्रतिशत मूल्यअभिवृद्धि गरिने भएकाले सरकारको आँखामा कुनै समस्या देखिएन । यद्यपि यस्तो निर्यात क्षणिक हुन्छ भन्ने कुरा बारम्बार उठेको थियो । नभन्दै भारतले सूर्यमुखी तेलमा लगाएको भन्सार दर घटाउना साथ नेपालबाट निर्यात ठप्प भयो ।  यसरी अन्य मुलुकबाट आयात गरेर मूल्यअभिवृद्धि गरी निर्यात गर्नु गलत होइन । तर, अवैध आयात गरी निर्यात गर्नु र त्यस्तो निर्यातले गर्दा नेपाली उत्पादनको निर्यातमा समस्या आउनुचाहिँ गलत मात्र होइन, दण्डनीय पनि हो । तर, यहाँनेर के स्मरणीय छ भने नेपालमा जति उत्पादन हुन्छ त्यो भन्दा निकै गुणा बढी सुपारी नेपाली भनेर निर्यात हुन्छ ।  नेपालको निर्यात नबढ्नु र निर्यात भइरहेका वस्तुको निर्यात परिमाण घट्नुमा यस्तै खालका विकृति कारण हुन् । कानूनी छिद्र छलेर गरिने यस्तो व्यापारमा आयातकर्ताले पनि आँखा लगाइरहेको हुन्छ । त्यसो हुँदा यस्तो आयातमा उसले कुनै न कुनै अवरोध खडा गरिहाल्छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । नेपालबाट भारतमा केही वस्तुको निर्यात हुन्छ तर यस्तो निर्यात दिगो देखिएको छैन । कुनै पनि वस्तु बढी मात्रामा निर्यात भयो भने उसले त्यसका बारेमा चासो राख्छ र गैरभन्सार अवरोध खडा गरिदिन्छ । नेपालले वनस्पति घ्यू ठूलो परिमाणमा निर्यात गरे पनि अहिले त्यो नाममात्रको हुन थालेको छ । यसमा भारतको यस्तै नीतिले काम गरेको देखिन्छ ।  त्यसैले नेपालले उत्पादन बढाउने काम गर्नुपर्छ । आफ्ना उत्पादनमा प्रयोगशालाको रिपोर्ट वा उत्पत्तिको प्रमाणपत्रजस्ता कुराले कतै पनि अवरोध नआओस् भनेर सरकारले त्यसअनुसार तयारी गर्नुपर्छ । अवैध बाटोबाट सामान ल्याएर निकासी गर्दा राज्यलाई वित्तीय रूपमा घाटा नहोला तर त्यसले नेपालको छवि बिगार्छ । त्यसैले सरकारले यस्तो कुरामा ध्यान दिनुपर्छ । नेपालबाट १० खर्बको वस्तु तथा सेवा निर्यातको सम्भावना भए पनि त्यसको ज्यादै कम मात्रै निर्यात गर्न सकेको छ । निर्यात सम्भावना उपयोग गर्न नसक्नुमा निर्यातका लागि भएका अवरोध हटाउन नसक्नु वा त्यसलाई सहज बनाउन नसक्न एउटा प्रमुख कारण हो । त्यसैले नेपाली उत्पादनले गैरभन्सार अवरोध खेप्न नपरोस् भन्नेमा सरकारले व्यापार साझेदार मुलुकसँग स्पष्ट रूपमा सम्झौता गर्नुपर्छ र अवरोध भएमा तत्कालै कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्छ । अन्यथा नेपाली उत्पादनले सधैं यस्तै समस्या भोगिरहनेछ ।

दुई साता बित्दा पनि सुपारीको अनुसन्धान अघि बढेन

भारत निर्यात भएको ८ ट्रक सुपारी री–रुट गरेर लैजाने क्रममा प्रहरीले विराटनगरस्थित रानीबाट नियन्त्रणमा लिएको दुई साता बितिसक्दा पनि अनुसन्धान अघि बढ्न सकेको छैन । सुपारी अनुसन्धान कसरी अघि बढाउने भन्ने द्विविधामा राजस्व अनुसन्धान विभाग परेको छ । एकातिर राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले बरामद सुपारीको डीएनए परीक्षण गराउनुपर्ने भनिरहेको छ भने अर्कोतिर विभागले भारत निर्यात भइसकेको सुपारी भएकाले छुनसमेत नमिल्ने भएको भन्दै त्यत्तिकै थन्काएको छ ।

विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने !

नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।

नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने

काठमाण्डाै – नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको ठाउँ परीक्षण गर्न निर्देशन दिएको हो । विदेशबाट अवैध रूपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको छ । पछिल्लो समय निर्यात गर्न पाएको इजाजतभन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो । समितिले आजकाे ब...

सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात निर्यात गर्न निर्देशन

काठमाडौं । अब नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो । विदेशबाट अवैध रूपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले...

सुपारीको डीएनए परीक्षण गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले विराटनगर नाकाबाट नियन्त्रणमा लिइएको सुपारीको डीएनए परीक्षण गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको समिति बैठकले डीएन परीक्षण विधीबाट सुपारी स्वदेशी वा विदेशी पत्ता लगाउन सरकारलाई निर्देशन दिएको हो ।