प्रोटोन एक्स ७० भर्चुअलमार्फत सार्वजनिक गर्दै जगदम्बा मोटर्स

काठमाडौं (अस) । नेपालमा मलेसियन अटोमोबाइल कम्पनी प्रोटोन गाडीको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले बहु–प्रतीक्षित मोडल प्रोटोन एक्स७० आउँदो असार १६ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । पहिला नै लञ्च तय भइसकेको यो गाडी कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण रोकिएको थियो । कम्पनीले विस्तार्रै परिस्थिति सहज भएसँगै यो गाडी नेपालमा लञ्च गर्न लागेको हो । भर्चुअल लञ्च कार्यक्रम असार १६ गते बेलुकी ४ बजेपछि प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी दिएको छ । उक्त कार्यक्रममा सहभागी बन्न प्रोटोन कार्स नेपालको फेसबुक पेजमा क्लिक गर्नुपर्नेछ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाए कम्पनीले सहभागीलाई विभिन्न आकर्षक उपहारसमेत दिने भएको छ । प्रोटोन एक्स७० अत्याधुनिक फिचर्स तथा डिजाइनका कारण बढी मात्रामा रुचाइएको एसयूभी हो । यसको एक्स्टेरियरमा  स्यापेड, फ्रन्टबम्पर, फ्लोटिङ रुफ डिजाइन, बाघको आँखाजस्तै आकार भएको एलईडी हेडलेम्प, दिउँसै बल्ने एलईडी लाइट, पानी परेको थाहा पाउने वाइपर्सलगायतका विशेषता छन् । यसको इन्टेरियरमा छालाबाट बनेको सिट र स्टेरियरिङ ह्वील छ, जसमा रेडियो नियन्त्रण र ब्लुतुथ फोन नियन्त्रण प्रणाली समाहित छ । त्यस्तै, ८ इन्चको स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणालीलगायत सुविधा छन् ।