खाना र प्रकृतिमा भएको समानान्तर विघटन अघिल्ला वर्षहरूकै अक्षमताका प्रतिफल हुन्, जसबाट मानिससहित समग्र प्रकृतिमा दिनदिनै संकट थपिने क्रम जारी छ । सन् २०२१ कसरी अपवाद हुन्थ्यो र ? खास गरी, नसर्ने दीर्घरोगले मानव स्वास्थ्य झनै संकटग्रस्त भयो भने जीवनका प्राथमिक आधार हावा, पानी र समग्र प्रकृतिको स्वास्थ्य अकल्पनीय रूपमा बिग्रेको थाहा भयो । सतहमा देखिएका यी केही संकट मानव सभ्यताका लागि नै आसन्न विपद् भएको ठहर गरी दिगो विकासको परिकल्पना गरेको समेत तीन दशक पूरा भएको छ । आपसी स्वार्थ बाझिएर बेलाबेला ओझेल पारिएका यी सवाल फेरि विश्वव्यापी चर्चामा आए । विश्व खाद्य प्रणाली सम्मेलन, जलवायु सम्मेलन र कोभिड–१९ को चर्चा गर्ने औपचारिक भेला–मेलासमेत भए तर कृत्रिम रसायन, विषादी, खनिज ऊर्जा र प्रकृतिदोहन सच्याउने कुनै सार्थक पहल भने भएन ।