हस्तकलाका सामग्री : विदेशी हेर्छन्, स्वदेशीले किन्छन् !

काठमाडौं । ‘विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्,’ वसन्तपुर दरबार क्षेत्रमा ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, ‘अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।’  मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लो भए पनि हस्तकलाका सामग्रीको व्यापार भने सन्तोषजनक छैन । पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री विक्री खासै नभएको उनको भनाइ छ । उनका अनुसार केही समयपछि उनका अधिकांश ग्राहक स्वदेशी पर्यटक हुने गरेका छन् ।  कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन करीब पुरानै लयमा फर्किँदैछ । विदेशी पर्यटकको सङ्ख्या पनि बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।  राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल मात्रै नभइ चर्चित पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण क्षेत्र, खुम्बु क्षेत्र तथा चर्चित तीर्थस्थलहरूमा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्छ । उपत्यकाका वसन्तपुर, ठमेल, पाटन दरबार क्षेत्र, भक्तपुरदरबार क्षेत्र स्वयम्भू, पशुपतिनाथलगायत तीर्थस्थलमा पनि बाक्लै सङ्ख्यामा पर्यटक पुगेका छन् ।  पर्यटकको पहिलो रोजाइमा पर्ने नेपाली उत्पादन अर्थात् हस्तकलाका सामग्रीको व्यापार भने सोचेजस्तो नभएको व्यवसायीको भनाइ छ । हस्तकलाका सामान खरीदविक्रीको लागि अहिले उपयुक्त समय पनि हो । असोज, कात्तिक र मङ्सिरमा बढी विदेशी आउने भएकाले उनीहरूले सामान खरीद गरेर लैजाने गरेको व्यवसायीको भनाइ छ । वसन्तपुरमा दैनिक रु १५ देखि २० हजार व्यापार गर्ने सिटौला अहिले मुस्किलले एउटा सामान विक्री हुने गरेको बताउँछन् । ‘कोभिडपछि अझै बजार लिइसकेको छैन । पर्यटकीय सिजनमै व्यापार सन्तोषजनक छैन । पहिले विदेशीको रोजाइ हुन्थ्यो अहिले नेपालीले बढी किन्ने गरेका छन्,’ व्यवसायी सिटौलाले भने ।  सिटौलाले वसन्तपुर दरबार परिसरको फुटपाथमा हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । उक्त स्थानमा धेरै सङ्ख्याका व्यापारीले यस्तो व्यवसाय सञ्चालन गरिरहेका छन् । वसन्तपुर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म हस्तकलाको व्यापार हुन्छ । दैनिक मानिसको भिडभाड भइरहन्छ । विदेशी पर्यटकले विशेषगरी नेपालमा उत्पादित परम्परागत हस्तकलाका सामान लैजान्छन् । बुद्धको मूर्ति, खट, खुकुरी मालालगायत सामग्री खरिद गर्ने गरेको व्यवसायीले बताए । व्यापार सुस्त रहेको र नयाँ पुस्ताले चासो नदिएकाले पुख्र्याैली पेसाको अस्तित्व नै समाप्त हुने हो की भन्ने व्यवसायी सिटौलाको चिन्ता छ । उनले भने, ‘छोरा नातिले यो व्यवसायप्रति चासो दिँदैनन् । विदेशतिर लागिसके अब, यो पेसा नै लोप हुने हो की भन्ने चिन्ता छ ।’  सिटौलाको पसलमा रु पाँच सयदेखि १५ हजारसम्मका हस्तकलाका सामान छन् ।  सोही क्षेत्रमा विगत २५ वर्षदेखि व्यापार गर्दै आएका सिन्धुपाल्चोकका हरि कार्कीको अनुभवमा पनि व्यापारमा उत्साह छैन । व्यापार राम्रो भएका बेला कहिलेकाहीं दैनिक रु १५ हजारसम्म आम्दानी हुन्छ । उनले भने, ‘यो सिजनमा व्यापार ठीकै छ, कोरोनाकालभन्दा त धेरै राम्रो छ । सिजनमा राम्रो व्यापार हुन्छ । अहिले सिजन हो तर, विदेशी पर्यटक बढे पनि ग्राहक भने नेपाली नै हुने गरेका छन् ।’  कार्कीको पसलमा रु पाँच सयदेखि १२ हजारसम्मका सामान छन् । विदेशीले ‘सिङ्गिङ बल’, माला लगायतका सामग्री बढी रुचाउँछन् ।  प्रमुख पर्यटकीय क्षेत्रमा विदेशीले भन्दा नेपालीले सामान किन्ने गरेको व्यवसायीले बताएका छन् । कोभिड पहिले दैनिक रु २० हजारसम्म कमाइ गर्ने कार्कीले अहिले पाँचदेखि १० हजार आम्दानी गरिरहेका छन् ।   वसन्तपुर दरबार क्षेत्र, ठमेल, स्वयम्भू, बौद्ध, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रमा हस्तकलाका सामानको व्यापार हुन्छ । सबैभन्दा धेरै किनमेल वसन्तपुरमै हुन्छ । होलसेलमै सस्तो सामान पाइने भएकाले विदेशीको पहिलो रोजाइ वसन्तपुर क्षेत्र हुने गरेको व्यवसायीको भनाइ छ ।  झापाका किशोर दर्नाल २५ वर्षदेखि वसन्तपुर क्षेत्रमा व्यापार गरिरहेका छन् । पर्यटकीय सिजन भए पनि व्यापार उत्साहजनक नभएको उनले बताए । उनी भन्छन्, ‘व्यापार कामचलाउ मात्रै छ । पर्यटक आए पनि सामान किन्दैनन् । नेपालीले नै बढी किन्छन् । आशातितरूपमा सिजनमै व्यापार छैन ।’ भक्तपुरकी धनमाया तामाङको पनि व्यापार राम्रो छैन । ‘कहिले हुन्छ, कहिले हुँदैन । भएको बेला रु पाँच हजारदेखि १० हजार कमाइ हुन्छ । पर्यटक आएका छन् तर बिक्री भने खासै छैन,’ उनले भने, ‘उपभोक्ताले माने, मुकुण्डोलगायतका सामान बढी लैजान्छन् ।’ वसन्तपुरमा सामान खरीद गर्दै गरेकी ललितपुरकी सृष्टि श्रेष्ठले यो क्षेत्रमा सस्तो सामान पाइने भएकाले आएको बताइन् । ‘वसन्तपुरमा सामान किन्न रमाइलो लाग्छ,’ भाउजू रेखा श्रेष्ठसँगै वसन्तपुर घुम्न आएकी उनले भनिन्, ‘पाटनमा सामान पाइने भए पनि नानीबाबुसँगै घुम्न पनि पाइने र सामान पनि किनिने भएकाले यहाँ आएका हौं ।’ वसन्तपुरका व्यवसायी मात्रै होइन, प्रमुख पर्यटकीय क्षेत्र ठमेलको हस्तकलाको व्यापार पनि राम्रो छैन । १५ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आएका मनाङ ह्याण्डिक्राफ्टका सञ्चालक वाङ्गेल गुरुङले सिजनमै व्यापार खासै राम्रो नभएको बताए ।  उनले भने, ‘कोभिडपूर्व व्यापार राम्रै थियो । अहिले भाडा तिर्नसमेत समस्या छ । पर्यटक आउँछन्, सामान हेर्छन्, जान्छन् । नेपालीले फाट्टफुट्ट किन्छन् ।’  ठमेलमा २२ वर्षदेखि व्यापार गर्दै आएका भारतका ओसिम आक्रामले पनि व्यापार राम्रो नभएको सुनाए । उनी ‘माउनटेन टिसर्ट ब्याग’मार्फत विदेशीलाई नेपाली उत्पादन विक्री गर्दै आएका छन् ।  ठमेलमा बुद्धिष्ट माला इन्टरप्राइसका सञ्चालक इन्द्रसिंह लामाले पर्यटक घुमिरहे पनि व्यापार सन्तोषजनक नरहेको बताए । रासस

सम्बन्धित सामग्री

तस्वीरमा हेर्नुस् हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता जारी छ ।  मङ्सिर २८ गतेबाट शुरु भएको मेला पुस २ गतेसम्म सञ्चालन हुनेछ । हस्तकला मेलाको यो २०औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८औं संस्करण हो । नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले बर्सेनि यो मेला आयोजना गर्दै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ । मेलामा हस्तकलाका वस्तुहरूको करीब १२५ वटा स्टलहरू रहेको महासंघले जानकारी दिएको छ । व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र वस्तुगत संघहरूको सहभागिता छ । महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल छन् । यस्तै, प्राकृतिक रेसा र वाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा रहने उनले बताए । मेलाको प्रमुख आर्कषणको रूपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहने जनाइएको छ । जसअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने प्रतियोगितामा उत्कृष्ट ३ जना कलाकारहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिने छ ।

सुस्तायो हस्तकला व्यापार

काठमाडौं । कोरोना महामारी शुरु भएदेखि नै करीब २ वर्षयता थुप्रै उतारचढावको सामना गर्दै आएको हस्तकला व्यवसायको व्यापार पछिल्लो समय बढ्दै गए पनि ओमिक्रोन भाइरसको प्रभावका कारण पुनः सुस्ताएको छ । भाइरसको प्रभाव बढेर विदेशी मुलुकमा सामानहरू निर्यात गर्न समस्या भएपछि व्यापार सुस्ताएको हो । नेपाललगायत अन्य मुलुकमा समेत भाइरसको संक्रमण दर बढ्दै गएपछि हस्तकला सामग्रीको निर्यात व्यापार ३० प्रतिशतमा सीमित भएको छ । निर्यात घट्नुको मुख्यकारण विदेशी मुलुकबाट माग घट्नु र कार्गोको भाडादर बढ्नु रहेको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आर्थिक अभियानलाई बताए । उनका अनुसार अहिले कार्गोको भाडादर ५ गुनासम्म बढेको छ । व्यवसायले गति नलिएका बेला बढेको भाडादरमा व्यवसायीहरूलाई सामान निर्यात गर्न झनै समस्या भएको छ । उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र करीब १ हजारभन्दा बढी हस्तकला सामग्रीका पसल रहेको महासंघको तथ्यांक छ । पछिल्लो समय ओमिक्रोन भाइरसको प्रभावले ती सबै पसल प्रभावित भएका छन् । पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको व्यवसाय भएकाले पनि नेपालमा आउने पर्यटक घट्नेबित्तिकै हस्तकला सामग्रीको व्यापार घट्ने गर्छ । अहिले पर्यटन व्यवसायसमेत सुस्ताएका कारण व्यवसायमा झनै समस्यामा परेको छ । नेपालमा महामारी शुरू भएयता काठमाडौंका ठमेल, असन, न्यूरोड र वसन्तपुरलगायत क्षेत्रका हस्तकला सामग्रीका करीब ३० प्रतिशत पसल बन्द भइसकेको अध्यक्ष शाक्यले जानकारी दिए । महासंघको तथ्यांकअनुसार नेपालको आन्तरिक बजारमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री विक्री हुने गर्छ । यद्यपि नेपाली हस्तकला सामग्रीको ठूलो बजार भने अमेरिका, चीन र अन्य यूरोपेली मुलुकहरू हुन् । नेपालबाट यी मुलुकमा वार्षिक रूपमा ११ देखि १५ अर्ब रुपैयाँसम्मको हस्तकला सामग्री निर्यात हुने गर्छ । व्यापारी, उद्यमी, श्रमिकसहित करीब ११ लाख मानिस यस क्षेत्रसँग आबद्ध छन् । तर, अहिले महामारीको प्रभावका कारण विगत २ वर्षदेखि वार्षिक ५ अर्बको कारोबार पनि हुन सकेको छैन भने ४० प्रतिशतभन्दा बढी मानिसले रोजगारी गुमाइसकेको महासंघले जानकारी दिएको छ । महामारीका कारण व्यवसाय निकै सुस्ताएका कारण अब नेपालमा नै नेपाली हस्तकलाका सामग्रीको प्रयोग तथा खपत बढाउनुपर्नेमा उनले जोड दिए । नेपालमा उत्पादन हुने करीब ४२ प्रकारका हस्तकला सामग्रीको करीब ३० प्रतिशत मात्र नेपालमा खपत हुनसकेमा पनि व्यवसायलाई निकै सहज हुने विश्वास उनले व्यक्त गरे । नेपाल सरकारले हस्तकला व्यवसायीप्रति उदासीनता देखाएका कारण व्यवसायीहरूले महामारीको समयमा मात्र होइन अरू बेला पनि दुःख भोग्नु परेको व्यवसायीहरूको गुनासो छ । नेपाली हस्तकलाको प्रवर्द्धन र ल्याब परीक्षणका लागि ३ वर्षअघि त्रिपुरेश्वरस्थित तीन रोपनी जग्गामा निर्माण गरिएको हस्तकला सार्क भवनको सञ्चालन हुन सकेको छैन ।

विश्वमा कला र संस्कृति पुर्‍याउन हस्तकलाको महत्वपूर्ण भूमिका : प्रम देउवा

मंसिर ३,  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्‍याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल हस्तकला महासंघको १८ औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता उद्घाटन समारोहलाई शुक्रवार राजधानीमा सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रोजगारी सृजनामा समेत यो उद्योगले सहयोग रहेको बताउनुभयो ।            ‘हस्तकला उद्योगले आधुनिकतासँग मिल्नेगरी सामग्री निर्माण गर्नुपर्छ, यसले अझै विश्वजगत्मा हस्तकलालाई चिनाउन सहयोग गर्छ, यसबाट हस्तकलाका सामग्री विक्री वितरणमा पनि मद्दत पुग्छ, यसकै माध्यमबाट प्राचीन कला, संस्कृति विश्वभर फैलन्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।            हस्तकला उद्योगले नेपालको गरिमालाई विश्वमा उच्च बनाएकाले पनि यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग सहयोग संगठन(सार्क) हस्तकला विकास केन्द्रका माध्यमबाट पनि नेपाली हस्तकलालाई विश्वभर फैल्याउने गरी काम अघि बढाइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।            कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले हस्तकलाले देशको कला, संस्कृतिलाई देशविदेशमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताए। ‘ढुङ्गा र धातुका मूर्ति, काष्ठकलाका चित्र, मिथिला कला चित्रलगायत हस्तकलाका सामग्री बनाइ विदेशमा निर्यात व्यापार प्रवर्द्धन गर्न सकिन्छ, यसबाट हाल ८० देशमा वार्षिक ६ खर्ब रुपैयाँको हाराहारीमा भइरहेको हस्तकलाको व्यापार वृद्धि गर्न मद्दत पुग्छ’, उनले भने ।          महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपालको मौलिक उद्योगका रुपमा रहेका हस्तकलाले २०४८ देखि नै व्यापार प्रवर्द्धनका लागि सरकारसँगको सहकार्यमा मेला आयोजना गर्दै आएको जानकारी दिए। हस्तकला उत्पादनको बजारीकरणका लागि मेलाले सहयोग गर्दै आएको उनले बताए ।            ‘हस्तकलाले आन्तरिक रोजगारी सृजनामा सहयोग गरेको छ, नेपाल आउने पर्यटकले चिनोका रुपमा लैजाने सामग्रीका रुपमा हस्तकला उद्योग उपयोग हुने गरेको छ, कोभिडको जोखिम कायमै रहेपनि वार्षिक रु छ अर्बको सामग्री विदेश निर्यात हुने गरेको छ’, अध्यक्ष शाक्यले भने ।            हाल आन्तरिक बजारमा वार्षिक २ अर्ब रुपैयाँको हस्तकलाका सामग्री वितरण हुने गरेको छ । हस्तकला उद्योगले ८ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगारी दिएको छ । त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सार्क हस्तकला विकास केन्द्र निर्माण सम्पन्न भई सञ्चालन हुने तयारीमा रहेको छ । महासंघले हस्तकला ग्रामको अवधारणा दुई दशकअघिदेखि अघि सारेपनि कार्यान्वयनमा आउन सकेको छैन । हस्तकला नीति बनाएर सरकारलाई बुझाएको एक दशक पुग्न लाग्दासमेत जारी नभएको महासंघले बताएको छ ।            व्यापार मेला संयोजक रबिन्द्र शाक्यले विसं २०२९मा स्थापना भएको महासंघमा हाल ४ हजार २५५ जना सदस्य रहेको जानकारी दिए। महासंघको नेतृत्वमा ललितपुरलाई विश्वमै ३५औं कला नगरी घोषणा गर्न सफल भएको उनले सुनाए । मंसिर ५ गतेसम्म सञ्चालन हुने मेलामा १ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यापार मेलामा ५ करोड रुपैयाँका हस्तकलाका सामग्री विक्री वितरण गर्ने लक्ष्य राखिएको आयोजक समितिले बताएको छ ।            कोरोना महामारी शुरु भएपछि विदेशी पर्यटक घटेका कारण हस्तकला उद्योगमा समस्या आएकाले आन्तरिक बजार प्रवर्द्धनमा सरकारले सहयोग गर्नुपर्ने कार्यक्रम संयोजक शाक्यको माग छ । मेलाका लागि सरकारी निकाय निर्यात प्रवर्द्धन केन्द्रले पहिले लागतको आधा सहयोग गर्ने गरेकामा कोरोना महामारीबाट हस्तकला उद्योगको व्यापार घटेका बेला घट्नु दुःखद् भएको बताए ।            मेलामा हस्तकलाका ४२ ओटा विधाका १२० ओटा कक्ष राखिएको छ । कार्यक्रममा महासंघले प्रकाशन गरेको हस्तकला उद्योग डाइरेक्ट्री र संस्कृत भाषामा लेखिएको साधनामाला ग्रन्थको नेपाली अनुवादको प्रधानमन्त्री देउवाले विमोचन गर्नुभएको थियो । हस्तकलाका सामग्रीको अनलाइन मार्केटिङका लागि इकला पोर्टलको पनि उहाँले शुभारम्भ गर्नुभएको छ । पोर्टलका माध्यमबाट हस्तकला उद्योग प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको बताइएको छ ।रासस

नपढी धेरै भाषा बोल्ने माया

भक्तपुर नगरपालिकाको गेटअगाडि एउटा पसल छ । त्यो पसल माया सुनुवारको हो । उनको पसलमा हातले बनाएका सामानहरु (हस्तकला) बेच्ने गर्छिन् । उनले यो पसल राखेको १८ वर्ष भइसक्यो । भक्तपुर दरबार क्षेत्र विदेशी घुम्न आउने प्रमुख स्थल भएको फाइदा मायालाई आर्थिक रुपमा मात्र भएको छैन, उनले यहीँ बसीबसी र ग्राहकहरुसँग कुरा गरीगरी तीन भाषा सिकिसकेकी छन् । मूलतः मायाले आफ्नो पसलमा हस्तकलाका सामग्री राख्ने र ती सामग्री विदेशीले खुबै रुचाउने भएका कारण उनलाई आर्थिकसँगै भाषाको फाइदा पनि पुगेको हो ।