गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत उडान गर्ने
निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यवसायिक उडान सुरू गर्न लागेको छ। सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले...
पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ ।
सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।
काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ ।
प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे काठमाडौंबाट उडान गर्दै आएको छ । रासस