एसएसएफ र एचआईडीसीएलबीच लगानी सहकार्य सम्झौता

काठमाडौं।सामाजिक सुरक्षा कोष (एसएसएफ) र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बीच लगानी सहकार्य सम्झौता भएको छ । मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद गौतमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा दुवै पक्ष जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने विषय उल्लेख गरिएको छ । सामाजिक सुरक्षा कोषमा हाल ८० अर्बभन्दा बढी लगानीयोग्य रकम रहेको र यो रकम निरन्तर बढी रहेको सन्दर्भमा ऐनले तोकिदिएको क्षेत्रमा सुरक्षित एवम् दिगो प्रतिफलयुक्त तरीकाले लगानी गरी योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा रकम लगानी गरी आर्थिक विकाशमा टेवा पुर्‍याउन सम्झौता गरिएको कोषको भनाइ छ । नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेका एचआईडीसीएलले आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनामा ऋण तथा स्वपूँजी लगानी गर्ने कम्पनी भएको हुँदा कोषको पूँजी र कम्पनीको विशिष्ट ज्ञानको फ्युजनमार्फत ऊर्जा क्षेत्रमा सिनर्जी प्रभाव सृजना हुने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।