विराटनगर (अस) । उद्योग संगठन मोरङले नयाँ व्यवसायको सृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले ‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रमको शुरुआत गरेको छ । बिहीवार संगठनका अध्यक्ष सुयश प्याकुरेलले कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा अध्यक्ष प्याकुरेलले युवाको नवीनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यावसायिक क्षेत्रको इको सिस्टम विकास गर्ने अभिप्रायले यो कार्यक्रमको शुरुआत गरिएको बताए । सञ्चालनमा रहेका उद्योग/व्यवसाय प्रवर्द्धनका साथै नयाँ उद्यमीको विकास गर्नुपर्ने सामाजिक उत्तरदायित्व समेत संगठनको रहेको उनको भनाइ छ । कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग प्राप्त हुने अपेक्षा उनले गरे ।
स्टार्टअप एण्ड इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले १८ महीना अवधि रहने कार्यक्रममा प्रदेश नं १ भित्रका नवीन व्यावसायिक अवधारणा भएका तथा स्तरोन्नतिको सम्भावना भएका २ वर्ष अघिदेखि सञ्चालित नयाँ उद्यमीहरू सहभागी हुन सक्ने बताए । नमूना कार्यक्रमका रूपमा कार्यान्वयन गर्न लागिएको यो कार्यक्रमबाट पहिलो चरणमा २० ओटा स्टार्टअप व्यवसायको छनोट गरी निःशुल्क सेवा उपलब्ध गराइनेछ । कार्यक्रम अन्तर्गत छनोट भएका स्टार्टअप व्यवसायलाई व्यावसायिक योजना तर्जुमा, वित्तीय व्यवस्थापन, व्यवसाय दर्ता र कानूनी परामर्श, प्रशासनिक परामर्श दिने उद्देश्य छ ।
यसैगरी बजार व्यवस्थापन तथा ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापनलगायत व्यवस्थापकीय विषयका साथै व्यावसायिक योजना अनुरूप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरशिप, कोचिङ तथा परामर्श सेवा समेत दिइनेछ ।
छनौट भएका स्टार्टअपहरूको व्यवसायको प्रकृति अनुसार अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय, सरकारी वा गैरसरकारी क्षेत्र, तथा निजीक्षेत्रका प्रयोगशाला, अनुसन्धानशाला वा परीक्षण केन्द्रहरूसँग समन्वय गरी सेवा उपलब्धताका लागि सहजीकरण समेत गरिने उद्योग संगठनले बताएको छ ।
यसका लागि पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, अन्तरप्रेरणा प्रालि लगायत संस्थासँग सहकार्य गरिएको छ ।