काठमाडौं महानगरले कम्पोस्ट मल बनाउन थाल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा कम्पोस्ट मल बनाउने काम शुरू गरेको छ । परीक्षणका रूपमा टेकुबाट शुरू गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी १ महीनाभित्र अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा पनि शुरू गर्ने तयारी रहेको महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । बिहीवार टेकुमा १२ मेट्रिक टन कुहिने फोहोरबाट मल बनाउने काम शुरू गरिएको हो । कम्पोस्ट मल बन्नका लागि १ महीनादेखि बढीमा ३ महीनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि काठमाडौं महानगरले उपत्यकामा उत्पादन हुने कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमीन उपलब्ध नभएपछि महानगरले थोरै ठाउँमा पनि मल बनाउने प्रक्रिया शुरू गरेको जानकारी दिएको छ । श्रेष्ठले भने, ‘सबै फोहोर एकै ठाउँमा जम्मा गर्ने र महानगरको केन्द्रीय कार्यालयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहोरको जिम्मा लिएर कम्पोस्ट मल बनाउन थाल्नुपर्छ ।  रासस