रौतहट । रौतहट जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजसम्बन्धी २ हजार ५८ थान उजुरी दर्ता भएका छन् । रौतहटका १८ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी कटहरिया र सबैभन्दा कम राजदेवीबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी मणिभूषण साहले बताए ।
सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सो जाँचबुझ आयोग गठन हुनु अगावै रौतहटमा ९२ ओटा उजुरी दर्ता भएका थिए, जसमध्ये आठओटा फछ्र्योट भइसकेको उनले जानकारी दिए । उजुरीका लागि वैशाख १७ गतेदेखि ३१ गते सम्मको समय तोकिएकोमा दुई पटक म्याद थप गरी जेठ १४ गतेसम्म समय बढाइएको थियो । मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन जिल्ला प्रशासन कार्यालय रौतहटमा दिएका हुन् ।
मधेश प्रदेशमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता १८ हजार ७१ पुगेको गृह मन्त्रालयको तथ्यांक छ । बारामा ३ हजार ३२२, सिराहामा २ हजार ९२०, धनुषामा २ हजार ६१५, महोत्तरीमा २ हजार ३३६, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२०, सप्तरीमा १ हजार ५७९ र पर्सामा १ हजार ३२१ ओटा उजुरी परेका हुन् ।