देवीदेवताका थान गरिबको ‘न्यायालय’

न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थानमा पुग्ने गरेका छन् । गाउँमा हुने चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन रहिआएको छ । अदालती न्याय प्रणालीभन्दा ग्रामीण भेगका विभिन्न देवीदेवताप्रति बढी विश्वास मान्ने गरिएको छ । अड्डा अदालतमा टाठाबाठा र हुनेखाने मात्र जान्छन्, गरिबको न्यायालय भनेको नै देवीदेवताका थान हुने गरेको स्थानीय बताउँछन् । छायानाथ रारा नगरपालिका–६ का ७२ वर्षीय कर्णबहादुर ऐडीले बिनारुपियाँ र प्रक्रियामा जतिबेला पनि गाउँका प्रसिद्ध गुरादेवको थानमा आफूले न्याय पाउने गरेको बताउनुहुन्छ ।