प्रभु स्मार्ट फण्डको इकाई खरीदका लागि मागभन्दा १.३२ गुणा बढी आवेदन

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ देखि २८ गतेसम्म विक्री गरेको प्रभु स्मार्ट फण्डको इकाई खरीदका लागि मागभन्दा १ दशमलव ३२ गुणा बढी आवेदन परेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले अन्तिम दिनसम्म संस्थाहरूसहित सर्वसाधारणबाट १० करोड ५२ लाख ९६ हजार २०० इकाई खरीदको लागि आवेदन परेको जानकारी दिएको हो । योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री खुला गरिएको थियो ।  कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।  क्यापिटलले रू. ८० करोड रकम बराबरको ‘प्रभु स्मार्ट फण्ड’ नामक योजना सञ्चालनका लागि इकाई निष्कासन गरे पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्थाअनुसार रू. १ अर्ब बराबरको इकाई बाँडफाँट गर्ने बताएको छ । निर्देशिकामा भएको व्यवस्थाबमोजिम निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्कासन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिन्छ ।  बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यो योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।