क्रिप्टोको कारोबारीलाई राष्ट्र बैंकले कारवाही गर्ने, विदेशमा बस्ने नेपालीलाई पनि बन्देज

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्डका कारोबारीलाई कारवाहीको चेतावनी दिएको छ । यी कार्यहरु गैरकानुनी रहेकोले यी कार्यमा संलग्नलाई कारवाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको हो।राष्ट्र बैंकले बिटकोइन कारोबार, क्रिप्टोकरेन्सी कारोबार र भर्चुअल करेन्सी, तथा नेटवर्क मार्केटिंग अन्तर्गतको कारोबार/व्यवसाय गैरकानुनी रहेकोबारे २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा सार्वजनिक सूचनाहरू प्रकाशन गरेको थियो ।राष्ट्र बैंकले भनेको छ 'नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा Virtual Currency/Cryptocurrency (Stablecoins समेत) ले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य (Legal Tender) नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा Virtual Currency/Cryptocurrency (Stablecoins समेत) को कारोबार गैरकानुनी रहेको छ | Virtual Currency/Cryptocurrency (Stablecoins समेत), पिरामिडमा आधारित Network Marketing तथा Hyper Fund मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ ।'नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका Virtual Currency/Cryptocurrency (Stablecoins समेत), पिरामिडमा आधारित Network Marketing तथा Hyper Fund कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, Mining सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको हो  ।  यो पनि : राष्ट्र बैंकले आवद्द नहुन आग्रह गरेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ के हो, किन छ जोखिम ?