आठ वर्षपछि भरियो कुपिण्डेताल

सल्यान । सल्यानको पर्यटकीय स्थलको रूपमा रहेको कुपिण्डेताल आठ वर्षपछि पानीले भरिएको छ । २०७० पछि पानीको सतह घट्दै गएको कुपिण्डेताल पानीले भरिएपछि मन्दिरसम्म पुग्न डुंगा चढ्नुपर्ने अवस्थामा पुगेको छ ।      वनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेतालमा पानीको सतह बढेपछि तालमा घुम्न आउनेको संख्यामा वृद्धि हुन थालेको छ । सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत यस तालमा पानी भरिएपछि ताल आकर्षक र सुन्दर देखिएको छ ।       ताल वरपरका खोलाबाट आउने बालुवा तथा सडक ताल वरिपरि निर्माण गरिएको सडकबाट निस्केको माटोले बर्सेनि ताल पुरिँदै गएकामा यस वर्ष भने पानी पुरानै अवस्थामा भरिएको स्थानीयको भनाइ छ । करिब २१ वर्ष पहिले तालमा पानी भरिएर किनारमा रहेको मन्दिरसम्म पानी भरिए पनि त्यसपछिका वर्षमा पानी घट्दै गइरहेको स्थानीय तिलक गोसाईंले जानकारी दिए । ‘तालमा पानीको सतह घट्दै जाँदा यसको सुन्दरता पनि हराउँदै गएको थियो । अहिले भने पानी पहिलेकै अवस्थामा आइपुगेको छ । पानी भरिएपपछि भक्तजन डुंगा चढेर मन्दिर आउने गर्न थालेको छन्’, गोसाईंले भने ।      तालमा भरिएपछि तालको किनारमा निर्माण गरिएका प्रतीक्षालयलगायत रचना तालमा डुबेका छन् । सल्यानलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने एक मात्र खलंगा बालुवा संग्रही सडकदेखि दुई किमि दूरीमा पर्ने कुपिण्डेतालमा पानी भरिएपछि ताल घुम्न आउनेको संख्यामा वृद्धि हुन थालेको स्थानीय हरिहर कुँवर बताउँछन् । ‘मैले थाहा पाउने बेला जहाँसम्म पानी थियो, यो वर्ष पनि त्यहीँसम्म पानीको सतह पुगेको छ । पानी कसरी भरियो भन्ने कुरा खोजी होला तर अहिले ताल यति सुन्दर देखिएको छ कि यसले जसलाई पनि मोहित पार्न सक्छ’, उनले भने ।       मन्दिरका पुजारी मानबहादुर गोसाईंले तालमा पानी भरिएपछि आकर्षक भएको र घुम्न आउनेको संख्या पनि बढ्न थालेको बताए । अहिले ताल घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेको गोसाईंले जानकारी दिए । ‘तालमा पानी बढ्नुको खास कारण थाहा छैन, यही बेमौसमी वर्षाले नै तालमा पानी भरिएको हो भने पनि तालको पानी घटेर पुरानै अवस्थामा फर्किन करिब तीन महिना लाग्छ’, गोसाईंले भने ।      ताल संरक्षणका लागि बर्सेनि लाखौं रकम खर्च गरिए पनि स्थानीयमा सचेतना फैलाउन नसक्दा तालवरपरको सुन्दरता भने घटेको छ । वरिपरिका क्षेत्रमा चरिचरनका रूपमा प्रयोग गरिनु, डालेघाँसका रूपमा वनमा घाँस काट्नुले सुन्दरता घटन थालेको सरोकारवालाको भनाइ छ ।       धार्मिक किंवन्दतीसँग जोडिएको यस तालमा सधैं पानी स्वच्छ र सफा हुने भएकाले पनि यहाँ घुम्न आउनेको भीडभाड हुन थालेको छ । यस तालको छेउमा रहेको मन्दिरमा पूजाआजा गरेर वर मागे पूरा हुने जनविश्वास रहेकाले पनि यस क्षेत्रको धार्मिक महत्व पनि बढेको मन्दिरका पुजारी गोसाईंले बताए । वर्षमा तीन पटक रङ फेर्ने कुपिण्डेताल २३ दशमलव ५३ हेक्टर क्षेत्रमा फैलिएको छ । रासस