एक अर्बभन्दा बढी लागत अनुमान गरिएको पटेर्वाघाट पुल उद्घाटनपछि स्थानीय भन्छन्- समयमै निर्माण हुनेमा उत्साही छौँ

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्न कमला नदीमा छ सय मिटर लामो पक्की पुल निर्माण हुने भएपछि स्थानीयले प्रसन्नता व्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गर्नुभएसँगै स्थानीयहरु वर्षौपछिको समस्या समाधान हुने भन्दै खुसीयाली व्यक्त गरे । सबैला नगरपालिका-४ का अध्यक्षसमेत रहेका  स्थानीय सत्यनारायण यादवले आफूले बाल्यकालमै पटेर्वाघाटमा पुल बन्ने हल्ला सुने पनि अहिले आएर पुल निर्माणले साथर्कता पाउने अवस्था आएको बताए । प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गर्दै व्यक्त गर्नुभएको प्रतिबद्धतापछि स्थानीयसँगै आफू पनि समयमै पुल निर्माण हुनेमा आशावादी बनेको उनले सुनाए । “बाल्यावस्थामै पुल बन्छ भन्ने सुनिएको हो तर ढिलै भए पनि निर्माण शुरू भएको छ । अब निर्धारित समयमै पुल बनाएर कमला नदी (पटेर्वाघाट) को समस्या सधैँका लागि समाधान गर्नुपर्छ”, यादवले भने, “प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी उत्साहित छौँ । त्यसलाई निराशामा परिणत नहुने गरी बजेटलगायतको बन्दोबस्त गर्न हाम्रो आग्रह छ ।” कल्याणपुर नगरपालिका–५ का अध्यक्ष कुलदीपकुमार यादव पनि पुल निर्माणको खबरले त्यहाँका जनता निकै उत्साहित भएको बताउँछन् । उनले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान र नदी किनारका नागरिकलाई जोड्न निर्धारित समयमै पुल निर्माण हुने अवस्थाका लागि पनि आग्रह गरे । “पुल निर्माण हुने भनेपछि हामी उत्साहित भएका छौँ । तर त्यही खोलाको अर्को पुल १२ वर्षसम्म पनि नबनेको पीडा पनि देखेका छौँ । समयमा काम हुँदैन भनेर जनतामा रहेको अविश्वास तोड्न पनि यो पुल समयमै बनोस्”, वडाध्यक्ष यादवले भने । स्थानीय कारीखर्गा यादव, कुमारी महरा, झिमनिया यादव, कलठरीया यादव र वीना यादवले पनि प्रधानमन्त्रीले समयमै पुल बन्छ भनेर आश्वासन दिएपछि आफूहरू उत्साहित भएको तर त्यो वचन पूरा हुन्छ कि हुँदैन भन्ने संशय भने कायमै रहेको बताए । महराले भने, “नदीले हामीलाई छुट्याए पनि दुवैतर्फका नागरिकका आफन्त, घरजग्गा वारिपारी छन् । अहिलेसम्म निकै जोखिम मोलेर वारपार गरिरहेका छौँ । वर्षायाममा त प्रत्येक पटक रु दुई सयसम्म भाडा तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ । त्यसबाट मुक्तिका लागि सरकार गम्भीर बनोस् ।” झिमनिया यादवले त आगामी साढे तीन वर्षभित्रै पुल बन्छ भनेको सुन्दा पनि अहिलेसम्मका सबै सास्तीबाट मुक्ति मिलेका जस्तै आभास भएको बताए । “पुल नहुँदाको पीडा भनी साध्य छैन । जुगौँदेखि सास्ती भोगिरह्यौँ । स्थानीय नेता र प्रधानमन्त्रीले नै अब पुल बन्छ भन्ने आश्वासन दिएपछि केही आशा पलाएको छ । बिन्ति छ यो आशालाई निराशासमा परिणत हुननदिनु होला !”, उनले भने । स्थानीय कारिखर्गा यादव पनि वर्षायाममा कमला नदीले दिएको दुःख सम्झिँदा पनि उदेक लाग्ने गरेको तर अब भने सरकारले आफूहरूको पीडा बुझ्ने आशा पलाएको सुनाए । “यत्रो वर्ष दुःख भोगियो । अब त साढे तीन वर्ष मात्रै त हो !”, उनले खुसी हुँदै भने, “तर, बिन्ती छ त्योभन्दा बढी दुःख भोग्न बाध्य नपार्नुहोला ।” कल्याणपुर नगरपालिका सिरहाका प्रमुख रामपुकार साहले स्थानीय जनताको मागबमोजिम लामो समयपछि पुल बन्न लागेकामा आफू पनि निकै खुसी र आशावादी बनेको बताए । उनले यो पुल त्यस क्षेत्रका जनताको विकास, सहज आवागमन र वर्षौंदेखिका समस्या निवारण हुने सपनासँग जोडिएकाले सोहीअनुसार निर्धारित समयमै काम हुनुपर्ने बताए । “अलि तल हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल वर्षौंदेखि बन्न नसकेका बेला फेरि यहाँ पुल बन्दैछ । त्यसैले विभिन्न शंकाउपशंका त छन् तर अब भने जनताको विश्वास र सपनालाई तोड्नु हुँदैन । सरकार र सम्बन्धित मन्त्रालयले बजेट व्यवस्थापन, नियमित निगरानी र समयमै काम सम्पन्न गर्ने वातावरण बनाउनुपर्छ । त्यसमा हामी पनि जोडतोडका साथ लाग्छौँ”, नगरप्रमुख साहले भने । लागत रु एक अर्बभन्दा बढी स्थानीय जनताको सपनासँग जोडिएको बहुप्रतिक्षित यो पुल अबको ४२ महिनाभित्रै निर्माण गरिसक्नुपर्नेछ । सोहीअनुसार सम्झौता पनि भइसकेको छ । तर कूल रकम रु एक अर्ब ११ करोड पाँच लाख ७४ हजार आठ सयमा ठेक्का भएको सो योजनाका लागि चालु आर्थिक वर्षमा ६५ लाख मात्रै बजेट विनियोजन गरिएको छ । योजनाको लागत धेरै तर चालु आर्थिक वर्षका लागि निकै कम बजेट विनियोजन गरिएकामा कतै बजेटको अभावमा काम नहुने त होइन भन्ने चिन्ता छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग पुल सेक्टर काठमाडौँका योजना प्रमुख डिभिजनल इञ्जिनियर आरती साह योजना कार्यान्वयनका लागि बजेट अभाव नहुने बताउँछन् । उनि यस्ता प्रकृतिका योजनामा शुरूमै सबै बजेट विनियोजन नभए पनि बजेटको अभाव नहुने बताउँछन् । “चालु आवमा रु ६५ लाख मात्रै विनियोजन गरिएको छ । यस हिसाबले त निर्माण कम्पनीलाई एउटा मेसिन ल्याउने पैसा पनि पुग्दैन भन्ने गुनासो हामीले पनि सुनेका छौँ तर यही आर्थिक वर्षमा रकमान्तर गरेर बजेट बढ्छ र आगामी आर्थिक वर्षमा अझ बढी बजेट बनियोजन हुन्छ ।” त्यसैमा गत शनिबार प्रधानमन्त्री दाहालले पुल शिलान्यास र समयमै सम्पन्न गर्नका लागि आफ्नो सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएपछि आफूहरू थप उत्साहित भएको साहले बताए । उनि जनविश्वास जित्नका लागि पनि आफूहरूले कुनै प्रश्न नउठ्ने गरी समयमै पुल निर्माण गरिसक्ने बताउँछन् । “स्थानीय जनताको आवश्यकताअनुसार हामी द्रुतगतिमा काम गरिरहेका छौँ । एक वर्षभित्र पाइल फाउन्डेसनको काम सकाउने र सकेसम्म विसं २०८२ को माघ नआउनुअघि नै सम्पूर्ण योजनाको कामसक्ने हाम्रो जोड हुन्छ”, योजना प्रमुख साहले भने, “यस कार्यमा प्रधानमन्त्री, विभागीय मन्त्री र सबै तहको दवाव र विश्वास पनि छ । त्यसहिसाबले हामी दत्तचित्त भएर काम गर्छौं ।” हुन त शिलान्याशपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पनि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन हुने र बजेट अभावका कारण योजना सम्पन्न गर्न कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “पुलका लागि आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था हुनेछ”, प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको थियो । साढे तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरी गत वर्ष अर्थात् विसं २०७९ असार २९ गते ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार आगामी विसं २०८२ माघ ५ गते (४२ महिना) भित्र पुल निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । कञ्चनवन–जानकी मेडिकल मिथिलेश्वर सबैला एनएच २९ नाम दिइएको योजना निर्माणको काम श्री इलाइट एसबिएजेभी, काठमाडौँले गरिरहेको छ । गत भदौ १८ गते पुलको डिजाइन स्वीकृत भई हाल ‘पाइल फाउण्डेशन’ को काम चलिरहेको छ । दुई लेनको सो पुलमा १० वटा स्पान रहनेछन् भने एउटा स्पानको लम्बाई ६० मिटर हुनेछ । पुलको चौडाई ११ मिटर रहने छ । पुलको दायाँबायाँ नौ सय ५० मिटर पहुँच सडक, दुवैतर्फ चार हजार दुई सय मिटर नदी नियन्त्रण हुने गरी व्यवस्थापन कार्य हुने सम्झौतामा उल्लेख छ । यो पुलले धनुषाको छिरेश्वर नगरपालिका रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल हुँदै जाने सडक सिरहाका सुखीपुर जोड्नेछ । त्यसबाट स्थानीय जनतालाई हुलाकी सडक भएर जानुपर्ने बाध्यता पनि हट्नेछ । रासस