विद्युतीय उपकरण प्रयोगले घटायो ग्यास खपत, प्रयोगकर्ता बढेको आयल निगमको दाबी

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास LP Gas (एलपीजी)को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी (LPG) खपत भएको छ । गत आव २०७८/७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो ।  यो तथ्यांकले आव २०७८/७९ तुलनामा चालू आवमा १ करोड ५६ लाख ८७ हजार किलोले एलपीजी खपत घटेको छ । नेपाल आयल निगमका अधिकारीहरू देशमा एलपीजीबाट बल्ने चूल्होको विकल्पका रूपमा प्रयोग हुने विद्युतीय उपकरण (Electric Equipment) को प्रयोग बढेपछि यो स्थिति आएको बताउँछन् । ‘खाना पकाउने, पानी तताउनेलगायत काममा बढीजसो एलपीजी प्रयोग हुने हो । पछिल्लो समय यस्ता कार्यमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ । त्यही भएर एलपीजी खपत घटेको हुनसक्छ,’ निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने । कार्कीले खपतमा कमी देखिए पनि एलपीजी प्रयोगकर्ताको दायरा फराकिलो बन्दै गएको बताए । उनका अनुसार पछिल्लो समय पहाडी भेग र गाउँमा पनि एलपीजी प्रयोग हुन थालेको छ । पहाडी भेगमा शहरी क्षेत्रको तुलनामा खपत निकै कम छ । विद्युत् आपूर्ति नियमित हुन थालेसँगै बढी एलपीजी खपत गर्ने शहरी उपभोक्ताले विद्युतीय उपकरणको प्रयोग बढाएको जानकारहरू बताउँछन् । विद्युतीय उपकरणको प्रयोग बढ्नुका पछाडि यस्ता उपकरण तुलनात्मकरूपमा सस्तो र सजिलो हुनुले भूमिका खेलेको उनीहरूको भनाइ छ ।  नेपालका पहाडी क्षेत्र र ग्रामीण इलाकातिर अहिले पनि दाउराको प्रयोग प्रशस्त मात्रामा हुने गरेको छ । ग्रामीण उपभोक्ताले एलपीजीको प्रयोग छोटो समयमा गर्नुपर्ने एवं कम खपत हुने काममा मात्रै गर्छन् । त्यही भएर एउटै एलपीजी सिलिन्डर महीनौं चल्न जान्छ । विद्युतीय उपकरणको कारोबार गर्ने व्यापारी विद्युतीय चूल्हो, राइस कुकुर (Rice Cooker) , किट्ली, जग, रड जस्ता सामग्रीको प्रयोग उल्लेख्य मात्रामा बढेको बताउँछन् । पहिला निकै सम्झाउँदा पनि किन्न नखोज्ने उपभोक्ता पछिल्लो समय विद्युतीय उपकरण किन्न खोजी खोजी आउने गरेको एक व्यापारीले सुनाए । ती व्यापारीले यस्ता विद्युतीय सामग्री आफूले निकै धेरै मात्रामा राख्ने गरेको बताए ।  मुलुकभित्र बिजुली खपत बढेको देखाउने नेपाल विद्युत् प्राधिकरण (Nepal Electricity Authority) को तथ्यांकले पनि विद्युतीय उपकरणको प्रयोग बढेको पुष्टि गर्छ । विद्युत प्राधिकरण (NEA) को तथ्यांकअनुसार आव २०७८/७९ को पहिलो ७ महीनामा ४१ लाख ७१ हजार मेगावाट जलविद्युत् खपत भएको थियो । चालू आव २०७९/८० को सोही अवधिमा विद्युत् खपत बढेर ५२ लाख ६७ हजार मेगावाट पुगेको छ । तथ्यांक केलाउँदा चालू वर्षको ७ महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० लाख ९६ हजार मेगावाटले बढी बिजुली खपत भएको देखिन्छ ।  उपभोक्ता पनि विगतको तुलनामा इन्धनका रूपमा ग्यास खपत घटाएर बिजुलीतिर आकर्षित भएको बताउँछन् । कोटेश्वरकी एक गृहणीले ग्यासभन्दा बिजुली सस्तो हुने सुनाइन् । विनासूचना विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या पूर्णरूपमा हटाउन सके भान्छामा ग्यासको सट्टा बिजुली प्रयोग गर्न सर्वसाधारण आकर्षित हुने उनको भनाइ छ ।