काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका आईपीओधनीहरूले दुई कारोबार दिनमा प्रतिकित्ता ६६ रूपैयाँ ५० पैसा गुमाएका छन् । कात्तिक २ गते कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको आईपीओ पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १४२ रूपैयाँ १ पैसादेखि ४२६ रूपैयाँ ३ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो ।
कात्तिक १२ गते स्पेशल प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबारमा प्रतिकित्ता ३५० रूपैयाँमा भएको थियो । स्पेशल प्रि–ओपनिङ सेसनपछि नियमित सेसनमा प्रतिकित्ता ३५० रूपैयाँमा कम्पनीको शेयर कारोबार खुला भएको थियो । पहिलो कारोबार दिनदेखिनै कम्पनीको शेयरमा विक्री चाप बढ्दा निरन्तर दुई कारोबार दिन शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । पहिलो र दोस्रो दिननै कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेको हो । पहिलो कारोबार दिन खुलामूल्यको तुलनामा प्रतिकित्ता ३५ रूपैयाँले शेयरमूल्य घटेर अन्तिम मूल्य ३१५ रूपैयाँ कायम भएको थियो । पहिलो कारोबार दिन कम्पनीको २० लाख ४८ हजार रूपैयाँभन्दा बढीको ४४६ कित्ता शेयर कारोबार भएको थियो ।
दोस्रो कारोबार दिन पनि यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१ रूपैयाँ ५० पैसाले घटेको छ । दोस्रो दिनको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २८३ रूपैयाँ ५० पैसा कायम भएको हो । दोस्रो दिन कम्पनीको ३२ लाख ७९ हजार रूपैयाँभन्दा बढीको २११ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको हो । सर्वसाधारण लगानीकर्ताले लगानी गरेको मूल्यभन्दा कम्पनीको शेयरको बजारमूल्य प्रतिकित्ता ४५ रूपैयाा ९२ पैसा बढी रहेको छ ।
क्लिंकर तथा सिमेन्ट उत्पादन गर्ने उदेश्य सहित ठुला उद्योगको रुपमा यस कम्पनीले २०६५ साल माघ ६ गते उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो । २०६५ साल जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७७ साल साउन ७ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार गर्दै आएको छ । दाङ जिल्ला, तुलसीपर उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित ८६ विघा जमिनमा फैलिएको कम्पनीले २०६९ साल जेठ १८ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । यस उद्योगको कुल लागत ८ अर्ब ७१ करोड रूपैयाँ रहेको छ । यसको उत्पादन दायरा ग्राहकको विकासशिल आवश्यकता अनुसार ओपिसी र पिपिसी समावेश गरिएको छ ।