तारणीप्रसाद कोइराला स्मृत्ती सञ्चारग्राम सञ्चालनमा

विराटनगर–४ स्थित तारणीप्रसाद कोइराला स्मृत्ती सञ्चारग्राम सञ्चालनमा आएको छ। सञ्चारग्रामको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संयुक्त रुपमा उद्घाटन गरे।...

सम्बन्धित सामग्री

सञ्चारग्राम सञ्चालनका लागि समझदारी

विराटनगर (अस) । रेडियो प्रसार विकास समिति रेडियो नेपाल र विराटनगर महानगरपालिकाबीच ‘तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम’ सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । विराटनगर–४ स्थित खारजीमा रहेको सञ्चारग्राम सञ्चालनका लागि मंगलवार रेडियो नेपाल र महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सिंहदरबारस्थित रेडियो नेपालमा भएको सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिबहादुर केसी र विराटनगर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हस्ताक्षर गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विराटनगरमा निर्माण भएको तारिणीप्रसाद कोइराला सञ्चारग्राम मुलुककै नमूना सञ्चारग्रामको रूपमा स्थापित हुने बताए । सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पहिलो सञ्चारग्रामको निर्माण ऐतिहासिक भएको भन्दै उनले यसको विकासका लागि मन्त्रालयले नीतिगत र निर्णयगत सहयोग गर्ने बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रेडियो प्रसारणको इतिहासमा तारिणीप्रसाद कोइरालाको भूमिका र उनको सम्मानमा स्थापना गरिएको सञ्चारग्राम नेपालका लागि नमूना र महत्त्वपूर्ण हुने बताए । रेडियो नेपालको स्थापना दिवसको अवसरमा महानगर एफएम र सञ्चारग्राम एकैसाथ सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी उनले दिए । रेडियो नेपालका कार्यकारी निर्देशक केसीले तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम पूर्वी नेपालको महत्त्वपूर्ण डिजिटल प्लेटफर्मको रूपमा स्थापित हुने बताए । रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा चैत २० गतेदेखि सञ्चारग्राम सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ । सञ्चारग्राममा रेडियो नेपालको प्रादेशिक प्रसारण सेवा सञ्चालनका साथै क्रियाशील सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालीम सञ्चालन, महानगर एफएम सञ्चालन, गीतसंगीत तथा श्रव्य सामग्री उत्पादन, गीत रेकर्डिङ तथा पूर्वेली कलासंस्कृति र सृजनाको व्यावसायिक रूपमा प्रवद्र्धन गर्नेलगायत उद्देश्य छन् ।