काठमाडौं । भारतमा रुसी तेल आयात यसअघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । जनवरीमा भारतले दैनिक ५० लाख ब्यारेलभन्दा धेरै कच्चा तेल किनेकोमा रुसबाट किनेको हिस्सा १४ लाख ब्यारेल छ । यो जनवरीमा गरिएको तेल आयातको २७ प्रतिशत हाे ।
मर्मतसम्भारका बेलामा प्रशोधन कारखाना बन्द गर्नुपर्ने भएकोले सरकारले तोकेको लक्ष्य पूरा गर्न सरकारी तेल प्रशोधन कम्पनीहरूले डिसेम्बर र जनवरीमा ठूलो परिमाणमा तेल आयात गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र खपतकर्ता हो ।
रुसले भारी छूटमा तेल बेच्न थालेपछि भारतले रुसी तेलको आयात बढाएको हो । रुसको तेलमा पश्चिमा देशहरूले प्रतिबन्ध लगाएपछि उसले भारी छूटमा तेल बेच्न थालेको हाे । प्रतिबन्धअघि भारतले रुसबाट कुल खपतको १ प्रतिशत मात्रै तेल खरिद गर्थ्यो ।
गएको महीना शाखलिन १ बाट मात्रै रुसी बेञ्चमार्क सोकोलको आयात दैनिक १ लाख ९ सय ब्यारेलको उचाईमा उक्लिएको थियो । जनवरीमा भारतले क्यानडेली तेल आयात पनि दैनिक ३ लाख १४ हजार ब्यारेलमा पुगेको छ । जनवरीमा संयुक्त अरब इमिरेट्सपछि क्यानडा भारतको पाँचौ ठूलो तेल आपूर्तिकर्ता बनेको छ । इराकी तेल आयात पनि सात महीनाकै उच्च स्तरमा उक्लिएको छ ।
चालु आवको अप्रिलदेखि जनवरीसम्ममा इराक सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । रुस साउदी अरबलाई उछिनेर दोस्रो ठूलो तेल आपूर्तिकर्ता बनेको छ । रुसबाट तेल आयात धमाधम बढिरहँदा मध्य पूर्वबाट तेलको आयात घटेर कूलमा ४८ प्रतिशतमा ओर्लिएको छ । ओपेकको तेल आयात पनि कीर्तिमानी न्यून स्तरमा झरेको छ ।एजेन्सी