वैशाख १४, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् ।
कम्पनीको वैशाख १३ गते (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले बुधवारदेखि लागू हुने गरी कटुवालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुने छ ।
नवनियुक्त सीईओ कटुवालले बुधवारै पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष धन बहादुर बरुवालले कटुवाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
उक्त अवसरमा कम्पनीका सञ्चालक शिवहरी दंगाल, मनोज कुमार खडका, भरतराज कोइराला र वाग्मती प्रदेश कार्यालय अन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रवन्धकहरुको समेत उपस्थिति थियो ।
यसअघि कटुवाल सोही कम्पनीमा एक वर्ष नौ महीना कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करीब २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ ।