पुस २१, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३० दशमलव ७५ अंकले घटेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ६४९ दशमलव २० विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका ओटा २३६ धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१४ दशमलव २० पुगेको छ ।
यो दिन दोस्रोमा छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमा ५ दशमलव ४९ प्रतिशत बढेर रू. ४१७ दशमलव ९० पुगेको छ ।
त्यस्तै यो दिन सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ५५ प्रतिशतले घटेकाले सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३२२ मा झरेको छ ।
त्यस्तै दोस्रोमा फष्र्ट माइक्रोफाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ३२ प्रतिशतले घटेर रू. ८६० मा झरेको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री भने शिवम् सिमेण्टको भएको छ । कम्पनीको रू. १८ करोड ७२ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५२३ कायम भएको छ ।
त्यसैगरी दोस्रोमा अपि पावर कम्पनीको रू. १६ करोड ७४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसुचक शून्य दशमलव ४९ प्रतिशत र वित्त समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक पनि घटेको छ । समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत,व्यापार समूहको १ दशमलव ७४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव २१ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ७१ प्रतिशतले घटेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको १ दशमलव ८८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७२ प्रतिशत,अन्य समूहको शून्य दशमलव १६ प्रतिशत,लघुवित्त समूहको २ दशमलव १ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ३८ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ९६ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ५४ प्रतिशतका दरले घटेको छ ।
पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा नाफा बुक भएसँगै बुधवार बजार केही प्रभावित बनेको हो । पछिल्लो समय लगानीकर्ताहरुले छोटो समयमानै नाफा भएपछि बुक गर्ने गरेका कारण परिसूचक घटेको हो ।
त्यसोत पुस मसान्तमा ऋणको साँवा र ब्याज तिर्नुपर्ने हुन्छ ।यसले गर्दा कतिपयले शेयर बेचेर तिर्ने गर्दछन् । सोही कारण पनि बजार प्रभावित भएको अनुमान लगाउन सकिन्छ ।