काठमाडौं । उच्च अदालत पाटनले रिडी पावर कम्पनीका निवर्तमान अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई ७५ हजार रूपैयाँ जरिवाना गराउने नेपाल धितोपत्र बोर्ड (SEBON)को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
उच्च अदालत पाटनले चैत २१ गते न्यौपानेलाई ७५ हजार रूपैयाँ जरिवाना तिराउने आदेश कार्यान्वयन नगर्न धितोपत्र बोर्डको नाममा आदेश दिएको हो ।
उच्च अदालतका न्यायधीशद्वय श्यामजी प्रधान र किरणकुमार पोखरेलको संयुक्त इजलाशले यस मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई ७५ हजार रूपैयाँ जरिवाना तिराउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दामा विपक्षी नेपाल धितोपत्र बोर्डबाट मिति २०७९ साल पुस २४ गते भएको निर्णयउपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५३ बमोजिम प्रस्तुत पुनरावेदनमा अन्तिम किनारा नभएसम्म उक्त निर्णयको कार्यान्वयन गर्न नमिल्ने हुँदा निवेदनको मागबमोजिम विपक्षी बोर्डबाट भएको उक्त निर्णय हाल कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरूलाई जानकारी गराउनुहोला ।’
धितोपत्र बोर्डले पुस २४ गते गुरु न्यौपानेलाई ७५ हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार न्यौपानेलाई कारबाहीको निर्णय गरेको थियो । उक्त उपदफामा ‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरूको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजार रूपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भन्ने उल्लेख छ ।
कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने व्यवस्था धितोपत्र ऐनले गरेको छ ।
न्यौपानेले बोर्डविरुद्ध दायर गरेको मुद्दा भने उच्च अदालत पाटनमा विचाराधीन नै छ । त्यस्तै बोर्डले न्यौपानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा मुद्दा दर्ता गरेको छ । चैत ८ गते बुधबार सरकारी जिल्ला वकीलको कार्यालयले न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो ।
रिडी पावर कम्पनी लिमिटेड (Ridi Power Company Limited) का तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेले उक्त कम्पनीको शेयर (Share) निज सो पदमा बहाल रहँदाकै बखत मिति २०७७ साल चैत १९ गतेदेखि २०७८ साल साउन २४ गतेसम्म खरीदविक्री गरेको बोर्डको ठहर छ । उक्त विषयमा तहकिकात गर्दा निजले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकोले मुद्दा दर्ता गरिएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।