अर्थमन्त्रीमाथि घनश्याम भुसालको कटाक्ष, ‘दलाल पुँजीवाद धोतीपाटा नै फेरेर अर्थमन्त्रालय छिरेछ’

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाललाई दलाल पूँजीवादले गम्भीर संकटतिर धकेलिरहेको बताएका छन् । ‘कम्युनिस्ट आन्दोलनः संकट र अबको बाटो’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले दलाल पूँजीवादले संकटतिर धकेलेको बताएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कानुनले निषेध गरेका व्यत्तिलाई मन्त्रालयमा छिराएर बजेटमा करका दर स्वार्थ अनुकुल हुने गरी तोडमोड गरिएको बारे भुसालले कडा कटाक्ष पनि गरेका छन् । उनले पहिले पहिले दलाल पूँजीवादले प्रधानमन्त्री र अर्थमन्त्रीहरू फकाउने गरे पनि यो पटक भने मन्त्रालयमै छिरेर अड्डा जमाएको भन्दै टिप्पणी गरे । ‘दलाल पूँजीवादले पहिले पहिले प्रधानमन्त्री फकाउँथ्यो, अर्थमन्त्री फकाउँथ्यो। अहिले त धोतीपाटा फेरेर दलाल पुँजीवाद अर्थमन्त्रालयमै छिरेछ’ उनले भने ।बजेट भाषणको अघिल्लो दिन अर्थमन्त्री शर्माले कानुनी विपरीत एकजना पूर्व नायव सुब्बा र एकजना चार्टर्ड एकाउन्टेन्टलाई मन्त्रालयमा बोलाएर करका दर हेरफेर गर्न लगाएको समाचार सार्वजनिक भएपछि अहिले उनको आलोचना भईरहेको छ ।