आकाश भैरव मन्दिर परिसरका लस्सी पसलहरु बन्द (तस्वीरहरु)

काठमाडौं । दशैंको लागि न्यूरोड बजार आएका एलिया मगर गर्मीका कारण शीतलताका लागि सँधै लस्सी पिउने पसल इन्द्रचोक पुग्दा अचम्भित भइन् । उनले आफ्नो परिवारलाई मिठो लस्सीले चिनिने आकाश भैरव मन्दिर मुनिका लस्सी पसल नै लिएर आएकी थिइन् । तर शनिवार उनी पुग्दा कुनै पनि लस्सी पसल खुल्ला थिएनन् । नजिकै रहेको जुत्ता पसलमा बुझ्दा विहीवार देखि बन्द भएको बताए । अनि उनी नजिकै रहेको लस्सी पसलको भीड छिचोलेर परिवार सहित पिउन गइन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको निर्देशनमा उक्त पसलहरु बन्द गराएपछि यस क्षेत्र सुनसान जस्तै छ । नेवार समुदायको एक महत्वपूर्ण देवता मध्ये आकाश भैरवलाई पनि मानिन्छ।  ‘आकाशका देवता’ मानिने यस हिन्दु देवतालाई काठमाडौंका धेरै मन्दिरहरू समर्पित गरिएको छ र इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको मुर्ति र मन्दिर सबैभन्दा प्रसिद्ध मन्दिरको रुपमा लिइन्छ ।  त्यही अनुरुप उक्त पवित्र मन्दिर परिसरमा लस्सी पसलका कारण मन्दिरको पवित्रतामा आँच आएको तथा जुठो गिलासहरुले मन्दिर परिसर फोहोर भएको कारण पसलहरु बन्द गरिएको महानगरको भनाई छ ।  यस स्थानमा गर्मी मौसममा दिनको ३०० देखि ७०० गिलास सम्म लस्सी विक्री हुने इन्द्रचोक क्षेत्रमा दैनिक २/३ लाख रुपैयाँबराबरको कारोवार हुने गरेको थियो ।  फाइल तस्वीर तस्वीरहरु: सुनिल शर्मा / आर्थिक अभियान