जेठ ३, काठमाडौं । आईपीओ ल्याउने तयारीमा रहेका सात ओटा जीवन बीमा कम्पनीहरुले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ७८ करोड ७६ लाख नाफा कमाएका छन् ।
ती कम्पनीहरुले गत आवको तेस्रो त्रैमासमा रू. ७२ करोड ११ लाख नाफा कमाएका थिए । चालू आवको तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कमाएको छ ।
कम्पनीले सो अवधिमा रू. २० करोड ३४ लाख नाफा कमाएको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उक्त कम्पनीको नाफा २१ दशमलव ८० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १६ करोड ७० लाख नाफा कमाएको थियो । सात ओटा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्सको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ दशमलव ५१ प्रतिशतले घटेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८ करोड ९२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ८ करोड २५ लाखमा सीमित भएको हो ।
ती सात ओटै कम्पनी आइपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । कतिपय कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसेकका छन् भने कतिपयले त साधारण सभाबाट पारित गर्न बाँकी रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि ती कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।
सात ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ लाख कित्ता आईपीओ निष्कानस गर्नेछ । त्यसैगरी युनियन लाइफ इन्स्योरेन्सले ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कानस गर्नेछ भने बाँकी पाँच ओटा कम्पनीले ६० / ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछन् ।
नयाँ १० ओटा कम्पनीमध्ये ज्योति लाइफ रिलायन्स लाइफ र प्रभु लाइफ कम्पनीले आईपीओ निष्कानस गरेर दोस्रो बजारमा कारोबार गर्दै आएका छन् ।
स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तिय विवरण