कात्तिक १२, काठमाडौं । चन्द्रागिरी हिल्सले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानीमा गत पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नोक्सानी घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ८ करोड ७१ लाख ५९ हजार नोक्सानी व्यहोरेको उक्त कम्पनी को नोक्सानी चालू आवको सोही अवधिमा रू. ३ करोड ८७ लाख २१ हजारमा झरेको हो ।
लकडाउन खुलेसँगै कम्पनीको आर्थिक प्रशासनिक क्रियाकलापहरु सञ्चालन हुन थालेकाले कम्पनीको नोक्सानी घटेको हो । सोही कारण चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ९१ लाख ३३ हजार धनात्मक भएको हो ।
यो आम्दानी गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ७८ लाख १२ हजार ऋणात्मक रहेको थियो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड रहेको छ भने जगेडा कोष रू. ४३ करोड २२ लाख ८१ हजार ऋणात्मक रहेको छ ।
पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ८२ पुगेको छ ।