दूधको अन्तरराष्ट्रिय बजार खोजी

नेपाल दुग्ध पदार्थमा आत्मनिर्भरतातर्फ उन्मुख छ भनिए पनि आन्तरिक मागलाई पुग्ने गरी उत्पादन हुन सकेको छैन । त्यसैले वर्षेनि २ अर्बभन्दा बढीको दूध र त्यसबाट बनेका सामग्री आयात हुने गरेको छ । तर, अहिले दूधको खपत घट्दा कुल ९ अर्ब ४१ करोड रूपैयाँभन्दा बढीको धूलो दूध र नौनी मौज्दात रहेको छ । यसरी मौज्दात बढ्दै जाँदा किसानहरूले दूधको भुक्तानी पाउन समस्या हुन्छ जसले गर्दा उनीहरू निरुत्साहित हुन सक्छन् । त्यस्तै दूध उत्पादन र गाई, भैसीपालनका लागि गरिएको ठूलो लगानी पनि चौपट हुन सक्छ । त्यसैले यसको बजार खोज्नुपर्ने बेला आएको छ । नेपालमा कृषि बजारलाई व्यवस्थित गर्न नसक्दा नै कृषि उत्पादन बढाउन नसकिएको हो । तर, दूधमा भने अलिक कम समस्या देखिन्छ । यसो हुनुमा सहकारीका माध्यमबाट दूधको बजारीकरण हुनु हो । यद्यपि ग्रामीण क्षेत्रका किसानले दूध विक्री गर्न नसकेका समाचार पनि आइरहेका छन् । गतवर्ष यही समयताका नेपालमा मागको दाँजोमा आपूर्ति कम थियो । तर, अहिले आपूर्ति बढी छ । यस्तोमा धूलो दूध बनाएर राख्नु नै समस्याको समाधान हो । तर, धूलो दूध पनि बढी परिमाणमा थुप्रिन गयो भने समस्या हुन्छ । एकातिर नेपालकै दूधले बजार पाइरहेको छैन भने अर्कातर्फ दूध आयात गर्न दिन एकथरी लबिङमा लागिरहेको पनि पाइन्छ । नेपालमा दूधको भण्डारण बढ्दै गएपछि अन्तरराष्ट्रिय बजारको खोजी हुन थालेको छ । अन्तरराष्ट्रिय बजारको खोजी हुनु सकारात्मक छ किनभने यसले उत्पादन बढाउन प्रोत्साहित गर्छ । तर, अन्तरराष्ट्रिय बजारको खोजी त्यति सहज भने छैन । पहिलो, नियमित आपूर्ति गर्न सक्नुपर्छ । दोस्रो, गुणस्तर कायम गर्न सक्नुपर्छ । कहिले दूध बढी उत्पादन हुने त कहिले कम उत्पादन हुने गर्दा आयात गर्नुपर्ने अवस्था आउने गरेको छ । यस्तोमा नेपाली दूध आयात गर्न कुनै पनि राष्ट्र सजिलै सहमत होलान् भन्न सकिँदैन । अर्को, नेपालको दूधको गुणस्तर मापन गरी अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र दिने प्रयोगशालाकै अभाव छ ।  त्यसैले दूध निर्यात गर्ने हो भने उत्पादनको निश्चित प्रतिशत निरन्तर निर्यात गर्ने नीतिमा जानुपर्छ । नेपालमा माग बढ्दा त्यसलाई सन्तुलनमा राख्न आयात गर्न पनि दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । त्यसका लागि किसानको लागत कम गराउन सरकारले निश्चित नीति लिनु आवश्यक पर्छ । अन्यथा निर्यात गर्न पनि सकिँदैन र आयात रोक्न पनि कठिन हुनेछ ।