बेलायत : गर्मीमा क्रिकेट खेल्दाखेल्दै मैदानमा ढलेर खेलाडीको मृत्यु

बेलायतमा शनिवार अत्यधिक गर्मी भएर लु चलेको बेलामा क्रिकेट खेलिरहेका एक खेलाडीको मैदानमा ढलेर मृत्यु भएको छ ।  मक्सूद अनवर नामक ती खेलाडी बलिङ गर्दागर्दै बिरामी परेका थिए ।  उनको टीम सल्ली सेन्चुरियन्सले आकस्मिक सेवाका लागि ९९९ मा डायल गरेको भए पनि उनलाई मैदानमा होशमा ल्याउन नसकिएको बताइएको छ । घटना साउथ वेल्सको ब्यारी नजिक भएको हो । म्याक्स भनेर चिनिने अनवरले चार ओभर बलिङ गरेपछि छातीमा पीडा अनुभव गरेका थिए । त्यसपछि एम्बुलेन्स बोलाइएको थियो ।  उनले छाती दुख्दा हीट स्ट्रोक भनी बेवास्ता गरे...

सम्बन्धित सामग्री

आउनोस् युद्ध गरौं

बजार ठण्डा छ, अर्थात् मन्दी छ । तर सदन र दल दलका बीच गर्मी बढ्दो छ । यो उखुम गर्मीमा नेताहरू जनतालाई के के हो के के दिन लडिरहन्छौं भन्दै भाषण ठोकिरहेका छन् । त्यसो त सरकार पनि जनताका सुविधाका लागि लड्या लड्यै छ । सरकारको नेतृत्वमा नै अहिले लडाकु दस्ताका नाइके छन् । तिनले लड्नलाई कहिले सुरुङ खने, कत्ति मुठी उचाले, कति धनुष्टंकार जोडे तिनको हिसाबकिताब गर्न थाल्यो भने त अर्को महाभारतै तयार होला । विगतका सरकारहरू देश र जनताका लागि खुब लाग्या थिए, अहिले पनि लागेको लाग्यै छन् । पहिले कहिले कृषि क्रान्ति गरे, कहिले शिक्षामा क्रान्ति भने । कहिले जनयुद्ध गरे त अहिले धनयुद्ध गरिरहेका छन् । तर युद्ध चैं गरिनै रहेका छन् । दश कोणमा फर्किएका दलहरूलाई एक ठाउँमा मिलाएर जनतालाई सेवासुविधा दिने भनेर लड्ने काम कम्ता भारी छ ? तर पनि लड्ने र लडाउने क्रम त जारी नै छ । तर राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हँुदैन भन्थे । त्यो भनेको त स्थायी सिद्धान्त, अडान र गन्तव्य हुँदैन भनेको पो रहेछ । किनकि यहाँ सबैलाई आफै बन्ने हतारो छ, देश त केवल बहाना रहेछ । यो लड्ने लडाउने खेलमा नेताजीहरू नयाँ नयाँ तरीकाहरू लेराइरहन्छन् । कोही ओछ्यानमा लड्छन् त कोही हिलोमा । कहिले पाँचतारे होटलमा लड्छन् त कहिले संसद्मा मारमुंग्री गर्छन् । कोही आफू लड्छन् त कोही अर्कालाई लडाउँछन् । लड्न भिड्न नसकेपछि अनि चिच्याउँछन् समानता, स्वतन्त्रता, अधिकार ... ।  त्यसो त यो लड्ने र लडाउने कर्म केवल हाम्रो पालामा वा अहिलेका सरकारहरूले मात्र गरेका होइनन् है ! विगतका सरकारहरू पनि जनतालाई सजिलै मार्ने प्रबन्धमा चुकेका थिएनन् । हाम्रोमा मात्र होइन, विश्वमा पनि चाहे अहिले चलिरहेका रुस–युक्रेन युद्ध होस् वा चीन–अमेरिकाबीचको शीतयुद्ध सबै सबै सरकारहरू आआफ्ना जनताका हितका खातिर लडिरहेका छन् । अझ सबै देश शान्तिका लागि लडिरहेका छन् । शान्तिका लागि बम पड्काइरहेका छन् । हिटलरको मगज सट्केको कुरा होस् कि हिरोशिमा, नागासाकीमा बम पड्केको कुरा, सबै शान्तिकै लागि रे ।  मानव सभ्यताको कुरा गर्ने हो भने झन्डै ५०० भन्दा बढी युद्धहरूले भरिएका छन् । बेलायत र फ्रान्सले एउटै युद्ध सय वर्षसम्म लडे । हामी पनि के कम ? त्यसैले लड्ने र लडाउने मेलो चलेको छ । यी सबै युद्धहरूका आआफ्ना कथा छन् । आआफ्ना व्यथा छन् । टोल, छरछिमेकदेखि अन्तरिक्षसम्म, ब्रान्डदेखि ब्रह्माण्डसम्म आआफ्नै ढंगका युद्ध जारी छन् । श्रीमतीजी श्रीमान्ज्यूमाथि भारी छिन् । सासू बुहारीसँग र बुहारी सासूसँग लडाइँ गरिरहकै छन् । जे गर, जसो गर, यसो गर, उसो गर तर झगडा चैं तगडा गर । किनकि लड्ने र लडाउने अथवा युद्ध गर्ने त हाम्रो रगतमै छ । त्यसैले सबैले आआफ्नो काम गर्नैपर्छ । एकअर्कोसँग युद्ध गर्नका लागि चनाको रूखमा पनि चढ्नैपर्छ, रछ्यानमा पनि सड्नैपर्छ । लड्नु हाम्रो सभ्यता र संस्कृति हो । लडेगा त बढेगा भनाइ नै छ । त्यै भएर त विश्व–ब्रह्माण्डमा मनुष्यजातिलाई सबैभन्दा बुद्धिमान् भनिएको । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । मर्नु त छँदै छ, आज नभए भोलि । विश्वमा यो समय मानिसको सम्पूर्ण बुद्धि र विवेक चैं एकअर्कोलाई मर्न र मार्नमै त टिकिरहेको छ । मर्नु र मार्नु पनि खुद्रा र होलसेलमा हुन्छ । चीन–अमेरिका, एमसीसी–बीआरआई, युक्रेन–रुस, नाटो–यूएनओ, भारत–पाकिस्तान सबैका आआफ्ना लडाइँ जारी छन् । प्रत्येकका दिमागमा लडाइँका नयाँ नयाँ जुक्ति फुरिरहेका छन् । कसले कसलाई कति छिटो मार्न सक्छ भनेर होला हतियारका यति धेरै भण्डारण गरिएका छन् । आधा विश्व हतियार बनाउनमा व्यस्त छ, आधा ती हतियार ठेगान लगाउनमा । प्रत्येकजसो देश आफ्नो राष्ट्रिय आयको सबैभन्दा ठूलो हिस्सा हतियार किन्नमै लगाइरहेका छन् । जनतालाई रोटी दिन नसक्ने सरकार गोलीमा पैसा बगाइरहेछ । सच्चा मानवताका लागि यति धेरै डलर खर्च भइरहेको छ भने मर्ने त पक्का छँदैछ । तर यो भीषण युद्धमा मर्ने मार्ने यो खेलमा प्रत्येक सरकार तपाईंको साथमा छ है ! त्यसैले एकअर्कोबीच झगडा गर्नु पुण्य कर्म भएको छ । असली धर्म भएको छ । भलै मर्ने मार्ने सुविधा फरक फरक सरकारहरूले फरक फरक ढंगले दिँदै आएका छन् । कुनै सरकारले खेतबारीमा सीधै कीटनाशक औषधि हाल्न लगाएर सोझै भोजनमै विष मिसाउने काम गरिरहेका छन् । कुनै सरकारले छिमेकबाट ट्रकका ट्रक विषादी भरिपूर्ण तरकारी र खाद्यान्न जनताका भान्छा भान्छामा पुर्‍याउने काम गरिरहेको छ । कुनै सरकार केमिकलहरू मिसिएका प्याकेट फुड वा डिब्बाबन्द खानेकुरा जनतालाई खाने वातावरण बनाएर धमाधम परमधाम पुर्‍याइरहेकै छन् । जनता पनि सरकारको यो उपहारलाई खुशी–खुशी नै ग्रहण गरिरहेका छन् । कुनै सरकार कमसल मदिरा र निम्नकोटीको औषधिको पूर्ण रूपमा वितरण व्यवस्था मिलाउन कटिबद्ध छ, ता कि मर्ने कार्यक्रम जारी रहोस् । कुनै सरकार त यस्ता यस्ता अस्पतालहरूलाई खोल्ने अनुमतिपत्र बाँड्दै हिँडिरहेको छ, जसमा केवल भर्ना मात्र भए पुग्छ । भर्ना भएको केही दिन वा हप्ता पुगेपछि बिरामी लाशमा परिवर्तित हुने प्रक्रिया शुरू हुन्छ । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । यो नै मानवको सभ्यता हो ।  एकबारको जुनीमा किन कायर बन्नु हुन्छ ? बरु आउनुस्, लडौं लडाऔं । जहाँ जसलाई जतिबेला सकिन्छ पछारौं । युद्ध छेडौं, घरघरमा बम, बारुद र बन्दुक फहराऔं । मानिस मानिसबीच, दल दलबीच, सरकार र जनताबीच एकअर्कोप्रति क्षेप्यास्त्र प्रहार गरौं । लडाइँ, झगडा, बम र गोली । अब प्रेमको बोली होइन, गालीको गोली निकालौं अनि नम्रतालाई नालीमा फालौं ⁄ शान्तिका लागि, समृद्धिका लागि आउनोस् एकअर्काविरुद्ध युद्ध गरौं, यदुवंशी बनौं । मानवका हितका खातिर आउनोस् सबै मिलेर मानवताको अन्तिम संस्कार गर्न संकल्प गरौं । निभ्नै सक्दैन युद्धको आगो यो मेरो दाबा हो । यो आफै लागेको नभै लगाइएको ज्यादा हो ।।