‘लघुवित्त र सहकारीलाई एकै दृष्टिले नहेरौं’

काठमाडौं । लघुवित्त वित्तीय संस्था र सहकारीलाई एउटै दृष्टिले हेर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरूले सबै लघुवित्त र सहकारीमा समस्या नरहेको भन्दै जहाँ समस्या छ त्यहीँ उपचार केन्द्रित गर्न पनि आग्रह गरे । यस्तै, कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र विकासको बाटो खुल्ने बताए । कार्यक्रममा बोल्दै कृषि विकास बैंकका पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले कृषिक्षेत्रमा लगानीमात्र नभई उत्पादनको बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘सहकारीमा समस्या मात्र छ्रैनन्,’ उनले भने, ‘सम्भावना बोकेका र आफूलाई सफल प्रमाणित गरेका सहकारी पनि छन् । यसको पहिचान गर्ने समय आइसकेको छ ।’ सहकारी र लघुवित्तलाई एउटै दृष्टिले हेर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषणप्रति असन्तुष्टि प्रकट गरे । जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्ने गरी भइरहेको प्रचारप्रसारले सबैलाई नकारात्मक प्रभाव पारिरहेको उनको भनाइ थियो । हाल १ हजार ४५९ साझेदार साना किसान कृषि सहकारीमार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै उनले सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको स्पष्ट पारे । साना किसान कार्यक्रममार्फत समुदायमा पछाडि परेका राउटे, कुसुण्डा, मुसहर, बनकरिया, दलित, अल्पसंख्यक र महिलाको आर्थिक सामाजिक रूपान्तरणमा काम गरिरहेको उनले बताए । कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले किसानलाई उत्पादनमा लाग्न प्रेरित गर्ने, उत्पादन गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बजारसम्म जोड्ने कुरामा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याए । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले लघुवित्तले गरेको काम हेरेर संस्थाको मूल्यांकन गरिनुपर्नेमा जोड दिए ।