भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्यो नि।...
मनाङ । हिमाली जिल्ला मनाङ असारको सुरुआतमै बाढीपहिरोबाट क्षतविक्षत भएको थियो । पहिराले क्षति पु¥याएका क्षेत्रको स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली यहाँ आएको थियो ।
त्यसपछि पनि अन्य सरोकारवाला सरकारी निकाय र राजनीतिक दलका नेताले सो क्षेत्रको अवलोकन गरेका थिए । स्थलगत निरीक्षणपछि अध्यक्ष प्रचण्डले त्यतिबेला भावी योजनासहित अध्ययन गरेर दीर्घकालीन समाधानको खोजी गर्ने आश्वासन दिएका थिए । त्यसैको परिणामस्वरूप पहिलो पटक यहाँका ठूला आकारका पहिराको अध्ययन गर्न थालिएको छ । पहिरा जानुको कारण पत्ता लगाई आगामी दिनमा थप पहिरा जान नदिन अध्ययन गर्न थालिएको हो । पहिरो रोकथामको उपाय पहिचान गर्ने प्रयास पनि अध्ययन गरिने प्राविधिकले बताएका छन् ।
डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले परामर्शदाता खटाएर ठूला आकारका पहिराको विशेषज्ञमार्फत विशेष अध्ययन गर्न थालेको हो । पहिराले मुख्यतः मनाङ जोड्ने एक मात्र मोटरमार्ग भत्किएपछि महिनौंसम्म आवतजावत रोकिएको थियो । स्थलमार्ग रोकिँदा मनाङमा खाद्यान्न र औषधी आपूर्तिमा समेत समस्या भएको थियो ।
डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले सडक खण्डमा पर्ने ठूला आकारका पहिरोको अध्ययन गराउन थालिएको बताए । सानातिना पहिराको खासै अध्ययन आवश्यक नपर्ने भए पनि ठूला पहिराको अध्ययन आवश्यक रहेको उनको भनाइ छ । ‘ठूला पहिरा आउनुको कारण पहिल्याउन आवश्यक छ किनभने हरेक वर्ष पहिरा जाने अवस्थामा त्यहाँ कसरी पूर्वाधार व्यवस्थापन गरी रोक्न सकिन्छ भनेर अध्ययन भएमा दीर्घकालीन समाधान गर्न सकिनेछ’, पन्तले भने, ‘हचुवाका भरमा सडकको पूर्वाधार खर्च बढी गर्नुभन्दा लामो समय टिकाउ हुने गरी सडक निर्माणका लागि पहिराको अध्ययन गर्नुपर्छ ।’
उनका अनुसार स–साना पहिराको सडक आयोजना आफैंले अध्ययन गर्नेछ । तर, ठूला पहिराको अध्ययन गर्ने क्षमता आयोजनासँग नभएपछि परामर्शदाता नै छनोट गरिएको छ । यो सडक खण्डमा सबैभन्दा ठूलो पहिरा कोतो, बगरछाप र सिरनातालमा झरेको छ ।
त्यसैगरी लमजुङ प्रवेश नाकामा पर्ने उदीपुरमा पनि ठूलो आकारको पहिरो खसेको छ । यी पहिरोको अध्ययन जरुरी रहेको उनले बताए । ‘ठूला आकारका पहिरो खस्नुको कारण पहिल्याउनुपर्ने हुन्छ । त्यो क्षमता हामीमा छैन । पहिरो खस्नुको मुख्य कारण पहिल्याउन भूगोल नै अध्ययन गर्न थालिएको हो । पहिरो किन गयो ? त्यसका कारण पहिल्याउने प्रयास हुनेछ । आगामी दिनमा पहिरो झर्नुबाट रोक्न सकिने भएकाले परामर्शदाताले उपाय निकाल्ने अपेक्षासहित अध्ययन थालिएको छ । त्यसबाहेक रोकथामको उपाय पनि पहिल्याइनेछ’, पन्तले भने ।
ठूलो वर्षाकै कारण हो वा भौगोलिक अवस्था कमजोर भएर पहिरा झरेको भन्ने कारण पहिल्याउन अध्ययन आवश्यक रहेको उनले बताए । ‘दीर्घकालीन सोच राखेर अध्ययन गर्न थालिएको हो । अध्ययनपछि पहिरोग्रस्त क्षेत्रमा सडकका पूर्वाधार निर्माणको काम अघि बढाइने उनले जानकारी दिए । ‘तत्कालै बलिया र ठूला आकारका संरचना त्यहाँ बनाउन भने मिल्दैन । अहिले बनाएर अर्काे वर्ष बग्ने अवस्था आउनुहुँदैन । त्यो थाहा पाउन पनि अध्ययन गर्नैपर्ने भएको छ’, उनले भने ।
सडकको पहिराको अध्ययनका लागि न्यू डाइमेन्सन इन्जिनियरिङ सर्भिसलगायत परामर्शदाता छनोटमा परेमा छन् । न्यू डायमेन्सनका कार्यकारी प्रमुख सञ्जीव पाण्डेका अनुसार बेंसीसहर आसपास र चामेसम्मका मुख्य पहिरोको अध्ययन गर्न विज्ञसहितको टिम परिचालन भएको छ । उनले भने, ‘त्यो खण्डमा झण्डै डेढ दर्जन ठाउँमा पहिरो झरेका छन् । तीमध्ये केही निकै भीषण आकारका छन् ।’
अहिले विशेषज्ञ टोलीलाई खटाएर ती स्थानमा पहिरा झर्नुको कारणबारे अध्ययन भइरहेको छ । भूगर्वविद्, भूक्षय विज्ञ, इन्जिनियरिङ जिओलोजिस्ट, जलस्रोतविज्ञलगायत टोली सहभागी छन् ।
‘के कारणले पहिरो खसेको हो । भिरालो नै भएर हो वा वर्षाका कारण वा भौगोलिक बनोट नै कमजोर भएर त्यो अवस्था आएको भन्ने थाहा पाउन अध्ययन गर्नुपर्छ । त्यो अध्ययन भइरहेको छ’, पाण्डेले भने, ‘अहिले पहिरा झरेको क्षेत्रलाई भविष्यमा कसरी जोगाउन सकिन्छ भनेर पनि अध्ययन आवश्यक छ । किनभने, भविष्यमा पनि यस्तै आकारको पहिरा जाने अवस्था भए रोकथामका लागि सावधानी अपनाउन सकिन्छ । पहिरो जान नदिन के गर्ने र त्यो ठाउँलाई कसरी बचाउने भनेर पनि अध्ययन हुनेछ ।’
उनका अनुसार ५० मिटर गहिराइसम्मको अवस्था पनि पहिल्याउने प्रयास हुनेछ । माटोको भारवहन क्षमता कमजोर भएर हो वा भीषण वर्षाकै कारण पहिरो झरेको भन्ने पत्ता लगाउन सकियो भने बल्ल भविष्यमा विकास निर्माण गर्न सहज हुने उनले बताए । ‘अर्काे वर्ष बाढी आउँदा त्यो बाटो थप क्षति नहोस् भनेर सचेत हुनुपर्नेछ किनकि सरकारले लगानी गर्दा पनि त्यहीअनुसार गर्नेछ’, उनले भने, ‘बालुवामा पानी हालेजस्तो अहिले लगानी गर्ने र अर्काे वर्ष बाढीमा बग्ने गरी क्षति हुन दिनुभएन ।’
आगामी दिनमा पहिरो झर्न नदिन अपनाउनुपर्ने रोकथामका विधि पनि यही अध्ययन टिमले थाहा पाउने उनको भनाइ छ । ‘कुन तरिकाले पहिरो रोक्न सकिन्छ भनेर पनि अध्ययन हुनेछ । तत्काललाई र दीर्घकालीन क्षति हुन नदिने उपाय पनि पहिल्याउनेछौं’, उनले भने ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले असारको बाढीपहिराले धेरै क्षति पुर्याएकाले अध्ययन गर्न जरुरी ठानेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘मनाङ प्रवेश नाकामा नै ठूलाका पहिरो झरेका छन् । ती पहिराको अध्ययन जरुरी छ’, आचार्यले भने, ‘पहिराको कारण पहिल्याउन सके आगामी दिनमा थप क्षति नहुन सक्छ ।’
उनका अनुसार कतिपय ठाउँमा पहिरोका कारणले बस्ती नै जोखिममा छन् । ती बस्तीलाई पहिराका कारणले भविष्यमा असर पर्ने कि नपर्ने भनेर पनि अध्ययनमार्फत समाधान गर्ने माध्यम पहिल्याउन आवश्यक रहेको उनको बुझाइ छ । केही वर्षअघि बगरछापमा पहिरा जाँदा त्यहाँको बस्ती दानाक्युमा सारिएको थियो । त्यस्तै अवस्था अब आउने देखिएको उनले बताए । ‘यहाँ पहिरो झरेर नदी थुनिने त्रास छ । वर्षामा पनि यहाँ पहिरो झरिरहन्छ । यहाँ सुक्खा अवस्थामा पनि पहिरो झर्छ । त्यही भएर पनि अध्ययन आवश्यक छ’, आचार्यले भने । रासस
खोज पत्रकारहरूले प्यान्डोरा पेपर्स नामक रिपोर्ट अर्थात् प्यान्डोराको बाकस खोले । त्यो बाकसभित्रबाट कतिपय धनाढ्य नेपालीले गैरकानूनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा अफसोर कम्पनी खोलेर गोप्य लगानी गरेको कुरा बाहिर आयो । ग्रीक पौराणिक कथामा त प्यान्डोराको बाकस खोलेपछि त्यसबाट भयानक कुराहरू, जस्तै– लोभ, घृणा, ईष्र्या, रोग, भोक, शोक, गरीबी, युद्ध र मृत्यु आदि जस्ता कुराहरू निस्केर संसारलाई पूरै बदलिदिएको थियो । तर पत्रकारहरूले खोलेको प्यान्डोरा पेपर्सले अरू देशमा के भयो कुन्नि, नेपालमा भने केही भएन । र, केही हुनेवाला पनि छैन ।
चार्ल्स शोभराजले नेपालको भन्सारबाट हात्ती नै छिराइदिन्छु, कसैले थाहै पाउन सक्तैनन् भन्थे । उनले भनेको हात्तीको अर्थ त हात्तीको फोटो भएका नोट पो रहेछ ।
पहिले पहिले पनि कहिले पनामा पेपर्स, कहिले विकिलिक्स त कहिले नेपालिक्स भनेर विभिन्न नाममा प्यान्डोराज् बक्स खोलिएकै हो । तर त्यसको क्यै प्रभाव परेको छैन हाम्रो देशमा । उता विदेशमा पनामा पेपर्स लिक्स हुँदा आइसल्याण्डकी प्रधानमन्त्री लगायतले पदबाट हात धुनुपरेको थियो । पाकिस्तानका पूर्वप्रम नवाज सरिफ र उनकी छोरीलाई १०औं वर्षको जेल सजाय सुनाइएको थियो । अर्थात् विदेशमा यस्ता रिपोर्टहरूको क्यै न क्यै काम भा छ । तर नेपालमा ? बहादुरहरूको देश पो हो त ! यस्ता जाबो लिक्सले छुस्स पनि छुन सक्दैन ।
अचम्मको कुरो चैं के भने देशमा यत्तिका कानूनहरू छन्, जसले नेपालीलाई विदेशमा पैसा लैजानबाट रोक्छ र विदेशबाट आउनबाट पनि छेक्छ । हिजो राजतन्त्रमा पनि त्यस्तो कानून थियो । आज गणतन्त्रमा पनि छ । तर पैसा त सुतुसुतु छिरेर बाहिर गइरहँदो रेछ । अनि उताबाट पनि हुतुतुुतु आइराकै छ । अनि कसरी आउँदा रेछ त ? चार्ल्स शोभराजले नेपालको भन्सारबाट हात्ती नै छिराइदिन्छु, कसैले थाहै पाउन सक्तैनन् भन्थे । उनले भनेको हात्तीको अर्थ त हात्तीको फोटो भएका नोट पो रहेछ ।
अर्को अचम्म, धेरै देशका राजनीतिक नेताका नाम यो रिपोर्टमा आएको छ । तर एउटै नेपाली नेताको नाम परेको छैन । तर नेपालका नेताले प्यान्डोरा पेपर्समा आफ्नो नाम आउने हैशियत बनाएका रहेनछन् भनेर भ्रममा नपर्नु होला । प्यान्डोरा पेपर्समा आफ्नो नाम नआउने गरी चाँजोपाँजो मिलाउन सक्ने खुबी पो छ त हाम्रा नेताहरूमा । कथं नाम आइहाले पनि केही नहुने माहोल बनाउने कला पो छ त उनीहरूमा ।
नेपालीलाई खुलेआम पैसा इधरउधर गर्न चाहिँ कानूनले रोक्ने रहेछ, घुम्टो ओढेर आवतजावत गर्न चाहिँ समस्या रहेनछ । त, अनुसन्धान केमा गर्न पर्ने देखियो भने पैसा यहाँबाट जाँदा कस्तो घुम्टो लगाएर जाँदो रेछ । उताबाट आउँदा पनि कुनै देशबाट घुम्टो लगाएर मात्र आउन पाउने र कुनै त्यस्तै देशबाट चैं घुम्टो खोलेरै आउन पाउने रेछ । अलिकति आइडिया त अर्बपति बन्धुले किताबै लेखेर दिएका थिए क्यारे ! यो कत्तिले बुझे कुन्नि !
यता अहिलेको सरकारले आर्थिक विधेयकमार्फत कालो धनलाई सेतो धन बनाउने व्यवस्था गर्यो । त्यो पनि छापामार शैलीमा अर्थात् विपक्षीले गरेको संसद् अवरोधकै बीचमा । यसलाई कत्तिले ‘ला वित्यासै पार्ने भो । सरकारले कालो धनलाई सेतो बनाउन लाग्यो’ भन्ठानेका छन् । त कसैले भने, होइन, खैरोलाई चाहिँ सेतो बनाउन दिन थालेको हो भनेर यसको समर्थन पनि गरेका छन् । तर अचम्म त के भने ह्याँ स्वदेशमै जम्मा भएको खैरो धन चैं बाहिर निक्लन मनाही रे । तर सात समुद्रपारि सेन्ट किट्स एण्ड नेभिस जस्ता ट्याक्स हेभन हो कि ह्यावेनमा जम्मा भएको नक्कली धन चैं मजाले ल्याउन पाउने रे । ‘नेपालको कानून, दैवले जानून्’ भन्थे, हो रेछ । कि त नेपाली उद्योगी व्यवसायीलाई पनि अब नेपालमै नयाँ सेन्ट किट्सको सृजना गर्न सुझाउनुपर्यो ।
भन्नुहोला ह्याँ टापु छैन । कसरी बनाउने ट्याक्स हेभन सेन्ट किट्स वा ब्रिटिश भर्जिन आइल्यान्ड्स भनेर । तर चाहेमा बनाउन सकिहालिन्छ नि । समुन्द्र भए मात्र पोर्ट हुने हो र ? ड्राइपोर्ट अर्थात् सुक्खा बन्दरगाह भन्ने पनि त हुन्छ नि । हो त्यस्तै, ह्याँ पनि ‘ड्राई आइल्यान्ड’ अर्थात् सुक्खा टापु बनाउने नि । अनि त्यो सुक्खा टापुलाई ट्याक्स हेभन भनिदिने र त्यहाँबाट सबै प्रदेशमा लगानी आउन र जान दिने बनाउने । अनि हरेक प्रदेशमा लगानी सम्मेलन गरेर एउटा प्रदेशको लगानी अर्कोमा लाने र ल्याउने गरिरहने । सम्भवतः सरकारले यस विषयमा सोचिरहेको पनि होला । किनकि यहाँबाट ह्वाँ पुगेर त्यै पैसा फेरि ह्याँ आइरहेको छ । त्यसको सट्टा पैसा उता जानै नदिने । बरु ‘ट्याक्स हेभन’ ह्यैं सृजना गर्ने । हुन्न ? एपीजेड, जीपीजेडको साटो अब एमएलजेड अर्थात् मनी लण्ड्रिङ जोन खोलेमा झन् काइदा हुन्छ क्या !
यता सरकारले निश्चित क्षेत्रमा २०८० सालसम्ममा गरेको लगानीको आयस्रोत नखोज्ने व्यवस्था गर्ने भनेको थियो । उता खोज पत्रकारहरूले नेपालीको विदेशमा अवैध लगानी छ भनेर प्रतिवेदन निकाले । यो काकताली होला कि कसैको बालीनाली अर्थात् खेती होला ? खैर यो जे होला, पछि थाहा हुँदै जाला । अहिलेलाई भने यत्ति कुरा चैं बुझौं कि सरकारले स्रोत खोज्नुपर्दैन भनेको मतलव अब सरकारले देश विकास गर्ने भो भन्ने चाहिँ होइन । त्यो भ्रममा चैं पर्दै नपर्नु होला है । विगतमा देश विकास गर्न भनेर घर घरमा बन्दुक देखाएर संकलन गरेको पैसा तह लाउने उपाय चाहिँ पक्कै हो । खै कुरा बुझ्या ?
त्यसैले चिन्ता खैरो धन अर्थात् पुराना घरानाको अप्रमाणित पैसा बाहिर आउन दिने विषयमा हुनु हुँदैन । चिन्ता रगतको पैसा अर्थात् हत्या, आतंक, लुटपाट, लागूपदार्थको किनबेच, मानव बेचबिखन आदिबाट गरिएको लाल धनको चैं हो । व्यवसायीलाई फाइदा भए फरक पर्दैन । किनकि उसले त्यो फाइदाबाट फेरि लगानी गर्छ र नयाँ रोजगारी सृजना गर्छ । तर लुटेराहरूलाई फाइदा भयो भने फेरि नयाँ नयाँ बन्दुक किन्छ र मान्छेका कन्चट ताक्न थाल्छ । समस्या वा चिन्ता यसमा चैं हो । शायद सरकारको ढिलासुस्तीमा यो नै प्रमुख कारण हो ।
सुन्नेलाई सुनका माला, भन्नेलाई फूलका माला । समयमै कुरा बुझ्नोस् । प्यान्डोरा बक्स खोल्न कुद्नुस् । कतै सेतो, खैरो वा कालो धनको पोको फेला पारिहाल्नु हुन्छ कि ?
अहिलेलाई भने हिले दशैं २०७८ को हार्दिक मंगलमय शुभकामना !
मन्त्रिपरिषद् पनि शेयर बजारजस्तै आज बढ्ने भोलि घट्ने, कुनै ठेगान नभएकोे पो भो त । हिजो मन्त्री भए, सम्मान लिँदा लिँदै भूतपूर्व । हरे ! हिजोको त्यत्रो बडेमानको माला सुक्नै नपाई जागीर चैट । हैट, असंवैधानिक छ भनेर जान्दाजान्दै कुर्सीमा बस्न कत्रो रहर ? डाँटेर, छलेर, धम्क्याएर, थर्काएर, फुक्र्याएर, अनेक थोक गरेर कुर्सी चाहिने, तर एकपल्ट पाएपछि छाड्न नहुने । ज्यान र इज्जतभन्दा ठूलो कुर्सीमा त्यस्तो कुन शक्ति छ हँ ?
उहिले त्रेतायुगमा रावणको नाभीमा अमृत थियो रे । शायद अहिले नेताहरू बस्ने कुर्सीमा अमृत छ र त कुर्सीका लागि यत्रो महाभारत छ ।
कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ ।
दन्त्यकथामा दैत्यहरूसँग यस्तो जुक्ति हुन्थ्यो कि आफ्नो प्राण कुनै सुगा, मैना वा कुनै चराभित्र राखेर आफू सुरक्षित हुन्थे । जति नै पटक उसलाई पहाडबाट तल खसाले पनि, उल्टो बनाएर झुन्ड्याए पनि, टाउको तरबारले छुट्याए पनि दैत्यको रौं समेत बांगिदैनथ्यो रे । तर जसै दैत्यको प्राण राखेको सुगाको घाँटी निमोठिन्थ्यो, दैत्यको तत्क्षण मृत्यु हुन्थ्यो रे ।
आधुनिककालमा पनि हाम्रा नेता मन्त्रीहरूमा आफ्नो प्राण जोगाएर राख्ने शक्ति कुर्सीमा हुँदो रहेछ । त्यसैले उनीहरू हरतरहले कुर्सी जोगाउन वा गुमेको कुर्सी पुनः पाउन मरिहत्ते गर्दा रहेछन् । जुन जुन नेता, मन्त्रीसँग यो कुर्सी जोगाउने वा गुमेको कुर्सी पुनः पाउने जुक्ति छ, तिनलाई इन्द्रका बाबु चन्द्रै आए पनि केही बिगार्न सक्तैन । उनीहरूलाई न त महँगीले छुन सक्छ, न दुर्घटनाले ज्यान लिन सक्छ, न भूकम्प वा कुनै महामारीले ।
तर मन्त्रीबाट खुस्केपछि चाहिँ जे पनि हुन सक्छ । त्यसैले मन्त्री बन्न मारामार छ । तर ग्रहदशा बिग्रियो र समयमै ग्रह शान्ति पूजा गर्न छुट्यो भने तात्तातै मन्त्री खुस्कन पनि बेर नलाग्ने रहेछ । ग्रहदशा ठीक छ भने चैं ५/५ मन्त्रालय पनि एक्लैले पाइने रहेछ । जबसम्म आफ्नो प्राण कुर्सीमा राखेका मानिसका कुर्सीलाई केही हुन्न, तिनलाई पनि कुनै आपत् नआउने रहेछ ।
केही समययता केही नेताले कुर्सीका लागि यतिसम्म तल गिरेर, यति धेरै हुरुक्क हुनुको मुख्य कारण नै कुर्सीमा उनको प्राण अडेकोले रहेछ । कुर्सी गयो भने उनको आन, मान र शान मात्र होइन, ज्यानै पनि फुत्त जाने रहेछ । त्यसैले विगतमा कतिपय मन्त्री भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्ने प्रमाणहरू हुँदा हुँदै पनि तिनका ज्यान बचाउनकै लागि सरकारले उनीहरूको कुर्सी नखोसेको रहेछ । पाए त आर्यघाटमा पनि कुर्सीमै जान्थे कि ?
जसरी कतिपय मन्त्रीले कुर्सीमा आफ्ना प्राण राखेका छन्, त्यसरी नै कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ ।
प्रतिनिधिसभाको पछिल्लो चुनावमा हार बेहोरेका कारण सांसदको सिट पाउनबाट वञ्चित कतिपय नेताको ज्यान बचाउन कुनै उपाय निकालेर उनीहरूलाई राष्ट्रियसभाको सिट दिएर जिउँदो राख्ने बन्दोबस्त पनि गरियो । राष्ट्रियसभामा सिट पाउनेबित्तिकै तिनीहरू बौरिए । तर त्यसरी सिट सुरक्षित गर्न नसकेका केही नेता, मन्त्री भने अहिले फेरि भूपू अर्थात् भूतलोकमा भूतप्रेतजस्तो भएर भौंतारिइरहेका छन् । यसरी त्यस्ता पुराना थुप्रै नेताहरू अझै न स्वर्गमा, न त पृथ्वीमा छन् । बेलाबेलामा उनीहरूको चित्कार पृथ्वीसम्म पनि आइपुग्छ ।
धेरैको त कुर्सीको पनि प्राण अन्तै हुँदो रहेछ । केही समयअघि एकजना ठूलै नेताको कुर्सी धरापमा पर्यो । उनले सो कुर्सी जोगाउन विश्व इतिहासमै कसैले प्रयोग नगरेका उपायहरू गरिरहेका छन् । उनको क्रियाकलापले स्पष्ट देखाउँछ कि उनको प्राण कुर्सीमै अडेको छ । कुर्सीविना उनी एक सेकेन्ड पनि बाँच्न सक्तैनन् । त्यसैले उनी आफू बसेको कुर्सीलाई कहिले रातारात कुनै ठूलै निवासभित्र लगेर लुकाउँछन् । कहिले उनी त्यो कुर्सीलाई लगेर कुनै इजलाशभित्र घुसाइदिन्छन् । अनि कहिले अदालतलाई धम्क्याउँछन् त कहिले शीतल भवनमा रातिराति गएर सुस्ताउँछन् ।
आप्नो प्राण बसेको सो कुर्सी जोगाउन उनी जे जे गर्न पनि तयार देखिन्छन् । चाहे त्यसको ठूलै मूल्य ती देशका नागरिकले तिर्न किन नपरोस् । वास्तवमै उनको कुर्सी जोगाउने यो हर्कतबीच थुपै निर्दोष शहीद भइसकेका छन् ।
हो, यी नेता अमर छन् । उनको कतिपटक ठूलै अपरेसन पनि भए । यिनी मानसिक रूपमा त ठीक देखिँदैनन् । तर उनको गाथमा भने आरामै आराम छ । उनको अनुहार, हाउभाउले पनि यो बताइरहेकै हुन्छ । किनकि उनको प्राण उनको कुर्सीमा अडेको छ र त्यो कुर्सी अन्त कसैमा अडेको छ । ती कतिपय बिचौलिया, कालाबजारी, तथाकथित ठूला व्यापारी र ठूलै छिमेकी हुन् रे । जबसम्म तिनलाई केही हुन्न, यिनको कुर्सीलाई पनि केही हुन्न । केही समययता भने यिनको कुर्सीमा पनि ग्रहण लाग्न लागेको छनक देखिँदै छ । तराजु ढल्केर हो वा शान्तिस्वस्ति गरेको नमिले जस्तो छ ।
यी उदाहरणहरूबाट प्रस्ट हुन्छ कि केही मानिससँग आफ्नो प्राणलाई कहिल्यै नाश नहुने कुरामा स्थानान्तरण गर्ने प्रविधि छ । सरकारले पनि ‘सर्वजन हिताय, सर्वजन सुखाय’को भावनाको परिचय दिँदै यस्ता अमर हुने प्रविधि सामान्यजनका लागि पनि सर्वसुलभ बनाउन थाल्नुपर्छ । त्यसो गरेमा उनीहरूले पनि आफ्नो प्राणलाई लगेर कहिल्यै नाश नहुने चीजमा राखेर सुरक्षित हुन सक्थे । चाहे महँगीले आकाश छोओस्, चाहे स्वाइन फ्लू, डेंगी वा कोरोना फैलियोस्, वा बाढी, पहिरो आओस्, भोकमरी छाओस्, त्यसले उनीहरूलाई केही फरक पर्दैनथ्यो । अहिलेजस्तो विना कुनै आफ्नो कसुर अकालमा ज्यान त जाँदैनथ्यो !
त्यसैले, हे शक्तिशाली, सुरक्षित, महान् आत्माहरू, लौ न ! कुर्सी नभाका हामी सामान्यजनलाई पनि आप्mनो प्राण सुरक्षित राख्न सक्ने उपाय बताइदिनोस् र हाम्लाई पनि अलिकति बाँच्ने अवसर दिनोस् न !