पुस ६, काठमाडौं । गैर नाफामूलक संस्था हामी नेपालले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
भक्तपुरको होटल भादगाउँमा आयोजित सभामा समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइरहेका बार्बरा फाउण्डेशनका अध्यक्ष डा सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल, लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाले दानबाट प्राप्त रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यका साथ आफ्नो वेबसाइट पनि शुरु गरेको छ ।
सभामा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङले संस्थाको भिजनलाई सफल बनाउन असीमित सहयोग र मायादिने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरू प्रति संस्था आभारी रहेकोे भन्दै संस्थाले कोही नभएकाहरूको लागि आवाज दिने बताए ।
उनले वेबसाइटबाट दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूको बारेमा सजिलै जानकारी लिन सक्नै भन्दै सामाजिक सुधारका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक स्वयंसेवकहरू पनि जोडिन सक्ने बताए ।
सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारण सभाको मुख्य उद्धेश्य रहेको बताइएको छ ।