अर्ग्यानिक तरकारीखेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर । अर्ग्यानिक तरकारी खेतीमा भोजपुरका किसानको आकर्षण देखिएको छ । विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले यहाँका किसान अर्ग्यानिक तरकारी खेतीमा लागेका हुन् । बजारमा बाहिरी जिल्लाबाट विषादियुक्त तरकारी आउने क्रम बढेपछि  यहाँका किसानले अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिइएको बताएका हुन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी तरकारी लगाउन थालेको किसानको भनाइ छ । किसानले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरिरहेका अरुण गाउँपालिकाका किसान शान्तिकुमार कार्कीले बताए । कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण  गाउँपालिकाका २१ परिवारले अर्ग्यानिक खेती गरिरहेका छन् । ‘हामीले २१ आधुनिक टनेल निर्माण गरेर अर्ग्यानिक खेती थालेका छौं,’ कृषक कार्कीले भने, ‘हामीलाई केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्ग्यानिक तरकारीको मागलाई पूरा गर्नेगरी खेती गरेका छौं ।’ किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादीको रूपमा प्रयोग गर्ने गरेका छन् ।  कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार गरी तरकारी बारीमा हाल्ने गरेको कार्कीले बताए । मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने भएकाले आलु, टमाटर, मुलालगायतका तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गरिरहेका छन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि उनीहरू अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित भएको बताउँछन् । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन कृषकले गाईगोरु तथा पशुको मूत्रलाई विषादीका रूपमा प्रयोग गर्छन् । उत्पादन बढाउन कम्पोस्ट र प्रांगारिक मलको प्रयोग बढी रहेको कृषक बताउँछन् । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्रांगारिक खेती प्रवर्द्धन अभियान कार्यक्रम अन्तर्गत खेती थालनी गरिएको स्थानीय किसानको भनाइ छ । १० लाख रुपैयाँ लागतमा दुईओटा क्लस्टर बनाएर प्याउली र सिमटारका कृषक समूहमा परीक्षणको रूपमा थालनी गरिएको ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अर्ग्यानिक तरकारी उत्पादन गर्ने लक्ष्य लिइएको कार्यालयले जानकारी दिएको छ । केन्द्रका प्रमुख योगेन्द्रप्रसाद यादवले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेको बताए । ‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौं,’ उनले भने, ‘अर्ग्यानिक खेतीलाई प्रवर्द्धन गर्नका लागि जिल्लामा पहिलोपटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौं ।’ यसले बजारमा रहेको अर्ग्यानिक खाद्य बालीको मागलाई केही हदसम्म पूरा गर्नेमा आफूहरू विश्वस्त रहेको उनी बताउँछन् । रासस