गाँसबास माग्दै गमगढीका अग्निपीडित

गमगढीका छिरिङ तामाङ बुधबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भक्कानिए । ‘हाम्रो न खाने गाँस छ, न बस्ने बास नै,’ उनले भने, ‘आगोले सबै खरानी बनायो हामी कसरी बाँच्ने ?’ उनकी छिमेकी झोवा तामाङले पनि जसोतसो ज्यान बचाए पनि अरू केही बचाउन नसकिएको गुनासो पोखिन् । ‘पाल देउला कहाँ गाड्ने ?,’ उनले भनिन्, ‘नुन चामल दिए कहाँ बसेर खाने ?’ भएको एउटा घर पनि आगोले ध्वस्त बनाएपछि उनलाई अब कसरी परिवार पाल्ने भन्ने पिरलो छ । उनले चिसोमा बालबालिका बचाउन समस्या भएको गुनासो गरिन् ।