काठमाडौं । आधुनिक पक्की भवन निर्माणमा मानव शरीरको मेरुदण्ड जत्तिकै स्थान हुन्छ, डन्डी (छड) को प्रयोग । यसलाई भवन निर्माण सामग्रीमध्ये प्रमुख अंगको रूपमा लिइन्छ । भूकम्प प्रतिरोधी र बलियो संरचनायुक्त भवनका लागि एउटा स्तम्भ हो, डन्डी ।
डन्डीका आकार, प्रकार र यसको प्रयोग
बजारमा उत्पादित डन्डीमा टिएमटी र टिएमएक्स प्रमुख प्रचलनमा रहेका छन् । टिमटीअघि टोर स्टिल र प्लेन डन्डीको प्रचलन थियो । हाल यसको सट्टामा टिएमटी डन्डीले स्थान लिएको छ । टोर स्टिलभन्दा बढी लचक र उच्च गुणयुक्त भएको कारण विस्तारै यसको बजार टिएमटीले लिन सफल भयो ।
टिएमटी (थर्मो मेकानिकलली ट्रिटेड) धातु प्रक्रियामार्फत बनेको हुन्छ । यसलाई इन्जिनियरिङको भाषामा टिएमटी बार, रेन्फोर्स बार वा रिबार भन्ने गरिन्छ । यसको उच्च भारवहन क्षमता, लचकता, बलियो, खिया प्रतिरोधी विशेषतायुक्त भएकाले भवन निर्माणका लागि उपयुक्त हुन गएको हो । निर्माण क्षेत्रमा टिएमटी रडको प्रयोगले पकड जमाउन सफल भएको छ ।
डन्डी विभिन्न आकारमा उत्पादन हुने गरेका छन् । त्यसमध्ये केही प्रमुख आकार ८ मिमि, १० मिमि, १२ मिमि, १६ मिमि, २० मिमि, २५ मिमि, २८ मिमि, ३२ मिमि, ३६ मिमि, ४० मिमिसम्म रहेको पाइन्छ । कतिपय कम्पनीले ४.७५ मिमि र ७ मिमि आकारका डन्डी उत्पादन गरिरहेको पाइन्छ ।
भवन निर्माणमा विभिन्न आकारका डन्डी प्रयोग हुन्छन् । स्ल्याब, बिम, फाउन्डेसन आदिमा तलाअनुसार फरक–फरक आकारका डन्डी प्रयोग गरिन्छ ।
साधारणतया ८ मिमिदेखि १२ मिमिसम्मको डन्डी प्रयोग हुन्छ । स्थान विशेषअनुसार ५ मिमिको डन्डी पनि प्रयोगमा आएको हुन्छ ।
छडको मूल्यमो एकरूपता पाइँदैन । नाम चलेका कम्पनीका केही बढी मूल्य रहेको पाइन्छ भने अन्य कम्पनीका कम मूल्य । ढुवानी भाडा र अभावका बीच मूल्यमा केही घटबढ भने भइरहन्छ । अहिले चलनचल्तीमा पञ्चकन्याबाट उत्पादित डन्डीको मूल्य १३५ प्रतिकिलो रहेको छ भने अन्यको १२८ प्रतिकिलो रहेको छ ।
कसरी छनोट गर्ने गुणस्तरीय डन्डी ?
बजारमा धेरै कम्पनीबाट उत्पादित फरक–फरक डन्डीका बीच कम मूल्यमा स्तरीय डन्डी छनोट गर्नु अवश्य पनि कठिन कार्य हो । त्यसमाथि विज्ञापनका आकर्षक र मोहित पार्ने खाले शब्दजालबाट प्रभावित नहुने कुरै भएन । धेरै थरी कम्पनीका फरक–फरक मूल्य पनि डन्डी छनोटको अर्को समस्या हो ।
सस्तोमा किन्नु कम गुणस्तरीय पर्ला भन्ने पीर, महँगोमा किन्नु, त्यो पनि गुणस्तरीय नै छ भन्ने के ग्यारेन्टी ? छनोटको यो दोधारबाट बच्ने केही उपायमध्ये पहिलो आधार हो, गुणस्तर ।
कुनै कम्पनीको नाम लिएर यही ठीक हो भन्नु सरासर पक्षपातपूर्ण हुन्छ । त्यसैले कुनै कम्पनीको पक्ष नलिईकन भन्नुपर्दा गुणस्तर नै पहिलो सर्त हो । तोकिएको मापदण्ड पूरा नगरी उत्पादन गर्न पाइँदैन । गुणस्तरीय छ/छैन छुट्याउन टेन्साइल टेस्ट गरिएको हुन्छ र त्यसको आधारमा नेपाल गुणस्तर विभागबाट गुणस्तर चिह्न प्रदान गरिएको हुन्छ । गुणस्तर चिह्न लेबल प्रयोग भएको कुनै पनि कम्पनीको उत्पादन प्रयोग गर्नु उपयुक्त मानिन्छ ।
गुणस्तरीय डन्डी छनोटका विषयमा केही विरोधाभासपूर्ण विषय उठ्ने गरेको पाइन्छ । राजेश हार्डवेयरका प्रोप्राइटर गुणस्तरको विषयमा कुनै जानकारी नहुने बताउँछन् । त्यहाँबाट बिक्री गरिने जगदम्बा कम्पनीको डन्डीमा गुणस्तर चिह्नको ट्याग लगाएको हुन्छ । सोही ट्याग नै गुणस्तरयुक्त छ भन्ने विश्वास गर्नुपर्ने आधार हो । त्यसैगरी धनवन्तरी बाराही ट्रेडिङका प्रोप्राइटरका अनुसार उत्पादक कम्पनी नै विश्वासको आधार हो ।
निर्माण क्षेत्रका विज्ञ भनेका इन्जिनियर हुन् । इन्जिनियर तिलक बानियाँका अनुसार समय–समयमा डन्डीको टेन्साइल टेस्ट गरिन्छ । यसमा डन्डीमा रहेको तन्कने शक्ति, जसलाई डन्डीको भारवहन क्षमताको मापन भनिन्छ । यही तन्कने शक्ति र त्यसमा रहेको कार्बन (किट) को मात्रालाई जाँच गरिन्छ । यसैको आधारमा डन्डी गुणस्तर हो/होइन थाहा हुन्छ ।
डन्डीको गुणस्तर मापन गर्ने विश्वासिलो आधार भनेको यसको ग्रेडिङ हो । एफई ४१५, एफई ५००, एफई ५५० र एफई ६०० यसका प्रमुख ग्रेड हुन्, जसले डन्डीको बलियो शक्तिलाई मापन गर्दछ । नेपाली कम्पनीका डन्डीमा ५०० गुणा डीको ट्याग लगाइएको हुन्छ । त्यो नै त्यो डन्डीको शक्ति वा गुणस्तर मापन प्रक्रिया हो । नेपाली उत्पादनमा ५०० र ५५० का गुणस्तर मात्र प्रयोग भएको पाइन्छ ।