चैत ११, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तर्गत नेपालमै पहिलोपटक वित्तीय क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले ईन्टरकलेज वित्तीय क्विज प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
क्यापिटलले काठमाडौं उपत्यकाभित्र रहेका १५ ओटा विजनेश कलेजहरूमा अध्ययनरत बीबीए तथा एमबीए तहका विद्यार्थीहरूलाई सहभागी गराएर उक्त प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
उक्त कार्यक्रमा यही चैत्र १२ गते शनिबार विहान १० बजेदेखि सिंहदरबार प्लाजा स्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुने कम्पनिले जनाएको छ ।
कार्यक्रममा १५ ओटा कलेजलाई ५/५ ओटाका दरले तीन टिममा राखेर पहिलो राउण्डको प्रतियोगिता सञ्चालन गराईने र उक्त राउण्डमा प्रथम तथा दोस्रो हुने २/२ ओटा कलेजहरूलाई फाइनल राउण्डमा प्रवेस गराइने छ । साथै फाइनलमा ६ ओटा टोलीबीच प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरूलाई २० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्डको युनिट, दोस्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरूलाई १० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्डको युनिट र तेस्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गराईने कम्पनिले जानएको छ ।
यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गराईनेछ ।
क्वीज नेपालको बैंक तथा वित्तीय संस्था र यसको नियामक निकाय नेपाल राष्ट्र बैंक, वर्तमान वित्तीय प्रणाली, अर्थतन्त्र र बजेटका विषयमा आधारित हुनेछ ।
साथै पूँजी बजार, बीमा, लगानी व्यवस्थापन, वर्तमान समयमा वित्त सम्बन्धी जल्दाबल्दा विषयहरूका साथै मर्चेन्ट बैंकिंङ, रेटिंग, नेप्से तथा नेपाली पूँजी बजारका विभिन्न सहभागीहरूका बारेमा प्रश्न उत्तरको माध्यमबाट कार्यक्रम सञ्चालन हुने क्यापिटलले जनाएको छ ।